पोखरा । सीजी हिरो मोटोकर्पले ‘एक्सट्र्याक’ इभेन्टको दोस्रो संस्करण पोखरामा आयोजना गर्ने भएको छ। आउँदो जेठ ३१ गते शनिबार पोखराको महेन्द्र गुफा नजिक हुने यस कार्यक्रममा मोटरसाइकल प्रेमी राइडरहरूले डर्ट ट्र्याक र अफ-रोड राइडिङको अविस्मरणीय अनुभव गर्न पाउने कम्पनीले जनाएको छ।
यसअघि ‘डर्ट टेम्पल’ धुलिखेलमा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेपछि सीजी हिरो मोटोकर्पले मोटरसाइकल संस्कृतिलाई प्रवर्द्धन गर्ने र आफ्ना अत्याधुनिक प्रविधिमा सुसज्जित मोटरसाइकलहरूको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले पोखरामा इभेन्ट आयोजना गर्न लागेको हो।
‘एक्सट्र्याक’ इभेन्टमा सहभागीहरूले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकलहरू, विशेषतः हिरो एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो, विशेष रूपमा डिजाइन गरिएको ट्र्याकमा प्रत्यक्ष रूपमा चलाएर आफ्नो अफ-रोड राइडको सीप परीक्षण गर्ने अवसर पाउनेछन्।
कार्यक्रममा सुरक्षाका सबै मापदण्डको सुनिश्चितता गरिनुका साथै व्यावसायिक मार्शलहरूको प्रत्यक्ष प्रशिक्षण र निर्देशनमा सहभागीहरूले आफ्ना अफ-रोड राइडिङ कलाको परीक्षण गर्न सक्नेछन्। साथै, उनीहरूले थप राइडिङ टिप्स पनि प्राप्त गर्ने अवसर पाउनेछन्।
पोखराको महेन्द्र गुफा नजिक बिहान १० बजेदेखि सुरु हुने इभेन्टमा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले हिरो मोटोकर्प नेपालको सामाजिक सञ्जाल पेजमा गई निःशुल्क रूपमा दर्ता गरी आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्।
सहभागिताका लागि इच्छुक राइडरहरूले चालक अनुमतिपत्रका साथै सेफ्टी गियरहरू (हेल्मेट, पन्जा, ज्याकेट आदि) अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। इभेन्टमा सहभागी तथा अनुभवी राइडरहरूका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ। साथै, कम्पनीले निःशुल्क एक्सपल्स ब्रान्डेड जर्सी (लिमिटेड एडिसन) को व्यवस्था पनि गरेको छ।
यो इभेन्टले मोटरसाइकल प्रेमी युवाहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्दै नेपालमा अफ-रोड राइडिङ संस्कृतिलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
Facebook Comment
Comment