घण्टी बज्छ, चल्दैन संसद्

भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा लगातार स्थगित

घण्टी बजेपछि सांसदहरू बैठक कक्षमा उपस्थित हुन्छन्। त्यसपछि सभामुख बैठक कक्षमा प्रवेश गर्छन्, राष्ट्रगान बज्छ र सभामुखले बैठक सुरु भएको घोषणा गर्छन् । तर पछिल्ला दिनहरू भने घण्टी बजे पनि बैठक सञ्चालन हुन सकिरहेको छैन ।

घण्टी बज्छ, चल्दैन संसद्

काठमाडौं । प्रतिनिधिसभामा केही दिनयता बैठक सुरु गर्ने घण्टी त बज्छ, तर बैठक चल्न सकिरहेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको प्रतिपक्षी मागमा सहमति हुन नसकेपछि ‘बैठक बोलाउँदै स्थगित गर्दै’को स्थिति देखिएको छ ।

नेपालको संसद्मा बैठक सुरु गर्नुअघि घण्टी बजाउने परम्परा छ । यो घण्टी सांसदहरूलाई ‘बैठक सुरु हुन लागेको’ जानकारी दिने माध्यम हो ।

घण्टी बजेपछि सांसदहरू बैठक कक्षमा उपस्थित हुन्छन्। त्यसपछि सभामुख बैठक कक्षमा प्रवेश गर्छन्, राष्ट्रगान बज्छ र सभामुखले बैठक सुरु भएको घोषणा गर्छन् । तर पछिल्ला दिनहरू भने घण्टी बजे पनि बैठक सञ्चालन हुन सकिरहेको छैन ।

जेठ १३ गतेदेखि अवरोधमा रहेको संसद् बैठक केवल एकदिन मात्र सञ्चालन भएको थियो । जेठ १५ गतेको दिन बजेट पेस गर्न दिने भन्दै प्रतिपक्षी दलहरूले अवरोध नगरेकाले त्यो दिन मात्र बैठक सञ्चालन भएको हो ।

त्यो दिनलाई अपवाद मान्ने हो भने जेठ १३ यता प्रतिनिधिसभाको बैठक लगातार स्थगित हुँदै आएको छ। बैठक निरन्तर स्थगित हुने क्रम २६ जेठसम्म जारी छ।

सत्तापक्ष र प्रतिपक्षबीच विवाद समाधान नहुँदासम्म संसद् बैठक चल्न नसक्ने स्थिति भए पनि सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्ने प्रयास जारी राखेका छन् । सोमबार सभामुख घिमिरेले बैठक सुरु गर्ने घण्टी बजाउन सचिवालयलाई निर्देशन दिएका थिए। तर प्रतिपक्षी दलहरूको विरोधका कारण बैठक सञ्चालन हुन सकेन ।

प्रतिनिधिसभामा जब घण्टी बज्यो र सभामुख बैठक कक्षमा प्रवेश गरे, त्यसपछि राष्ट्रिय गान बजेर बैठक सुरु भएको घोषणा गरियो । तर, बैठक सुरु भएको घोषणासँगै प्रतिपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख घिमिरेले बैठक स्थगित गर्नुपर्‍यो ।

केही समयपछि सूचना पाटीमा दुई दिनका लागि संसद् बैठक सारेको सूचना टाँसियो । सूचनाअनुसार आगामी बुधबार दिउँसो १ बजे बैठक बस्ने तय गरिएको छ।

यस्तै, आइतबार पनि सभामुखले सहमतिबिना नै घण्टी बजाएर बैठक चलाउन खोजेका थिए। तर प्रतिपक्षी दलहरूको अवरोधका कारण त्यो दिन पनि बैठक सञ्चालन हुन सकेन।

बैठक चलाउन नसक्ने अवस्था देखेर सत्तारुढ दलका सांसदहरू नै असन्तुष्टि व्यक्त गरेका छन्। एमालेका एक सांसदले भने, ‘प्रतिपक्षका माननीय सांसद साथीहरू सहमति भएको छैन भन्दै हुनुहुन्थ्यो , तर एक्कासि बैठकको घण्टी बज्यो। चल्दैन भन्दा-भन्दै के आधारमा बैठक चलाउन खोजेको बुझिएन।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक चल्न दिएका छैनन् । गृहमन्त्रीको राजीनामासँगै संसदीय छानबिनको माग राखेर प्रतिपक्षीहरूले प्रतिनिधिसभा अवरोध गरिरहेका छन् ।

प्रतिपक्षी दलहरूले माग्दै आएको गृहमन्त्रीको राजीनामाको आवाजको टोन केही सानो सुनिए पनि संसदीय छानबिनको मागमा भने प्रतिपक्षीहरू अडिग छन् । तर सत्तापक्षले भने भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान चलिरहेकाले छुट्टै संसदीय छानबिन बनाउन नहुने जनाउँदै आएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउन सरकार तयार नभएकाले बैठक चल्न नसकेको बताएका छन् ।

‘हामीले व्यक्ति केन्द्रित छानबिनको माग गरेका छैनौँ। भिजिट भिसासँग जोडिएको प्रवृत्तिमाथि संसदीय अनुसन्धान गरौँ भनेका छौँ। यसमा सरकार तयार हुनुपर्छ। अनि संसद् खुल्छ,’ झाले भनेका छन्।

नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले प्रतिपक्षीहरूको आवाजलाई सम्बोधन गरेलगत्तै संसद् खुल्ने बताए ।

‘गृहमन्त्रीले राजीनामा दिने अडान हाम्रो यथावत् छ। त्योसँगै छानबिन समिति बनाउनुपर्ने माग हो। त्यसमा सरकार तयार भएकै दिन संसद् खुल्छ,’ पाण्डेले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved