बर्दिया । जिल्लाको राजापुरका खुसीराम थारू घरबाट निस्किने क्रममा अरु दिनझैं फोनमा एउटा म्यासेज आउँछ– कर्णाली नदीको जल सतह ९ मिटर पुगेकाले कर्णाली तटिय क्षेत्रमा बसोबास गर्ने समुदायहरू सतर्क रहन अनुरोध छ ।
पूर्वसूचना कार्यदलका संयोजक खुसीराम तुरुन्तै चिसापानीकी गेज रिडर पार्वती गुरुङलाई फोन गर्छन् । ‘हो, नदीको जलस्तर बढ्दैछ, समुदायलाई सतर्क गराउनुहोस्,’ उनी फोनमार्फत भन्छन् ।
खुसीराम माइक्रोफोन निकाल्छन् र तल्लो कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने आफ्ना समुदायलाई सन्देश सम्प्रेषण गर्न सुरु गर्छन् ।
हरेक वर्ष विश्व वातावरण दिवस (जुन ५)को अवसरमा तल्लो कर्णाली तटीय क्षेत्रमा यस्तै अभ्यासहरू देख्न सकिन्छ । यस क्षेत्रका बाढीबाट प्रभावित हुने समुदायहरूले समुदायमा आधारित बाढीजन्य विपद्को कृत्रिम घटना अभ्यास आयोजना गर्दै सक्रिय सहभागिता जनाउँछन् । यो पहल सन् २०१४ मा प्राक्टिकल एक्सन नेपाल र अरू साझेदार संस्थाहरूले सुरु गरेका थिए, जुन अहिले नियमित र प्रतिक्षित कार्यक्रम भएको छ । खुसीराम र उनको समुदाय यो अभ्यासमा सहभागी भएको ८ वर्ष भइसकेको छ ।
यो अभ्यासमा जल तथा मौसम विज्ञान विभाग, प्रदेश सरकार, जिल्ला आपतकालीन सञ्चालन केन्द्रहरू, स्थानीय आपतकालीन सञ्चालन केन्द्रहरू, समुदायिक विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, सञ्चारकर्मीहरूलगायत विभिन्न सरोकारवाला निकाय सक्रिय रूपमा संलग्न हुन्छन् ।
स्थानीय सरकारले यस प्रकारको सामुदायिक अभ्यासका लागि रातो किताबमार्फत बजेट विनियोजन गर्न थालेका छन् र कार्यक्रम आयोजना तथा समन्वयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यस वर्ष कर्णाली नदी र बबई नदीको तल्लो तटिय क्षेत्रका प्राक्टिकल एक्सनले काम गरिरहेका १०१ भन्दा बढी सामुदायिक विपद् व्यवस्थापन समितिहरूले कृत्रिम घटना अभ्यासमा भाग लिएका छन् ।
बाढी कृत्रिम घटना अभ्यासले बाढी पूर्वसूचना प्रणालीका चार परस्पर सम्बन्धित पक्षहरू– जोखिमबारेको ज्ञान, निगरानी र चेतावनी, संचार तथा संप्रेषण, प्रतिकार्य क्षमताको परीक्षण गर्छ । यसले वास्तविक बाढीका घटनाहरूमा विभिन्न तहका सूचना प्रयोग गरेर क्षति न्यूनीकरण गर्न सहयोग गर्छ । सरल भाषामा भन्नुपर्दा बाढी कृत्रिम घटना अभ्यासले पूर्वतयारीका माध्यमबाट सम्भावित विपद् रोक्न सहयोग गर्छ ।
यस अभ्यासमा समुदायले बाढीको जोखिमबारे जानकारी बाढी आउनुभन्दा धेरै अगाडि नै प्राप्त गर्छ । त्यसपछि समुदायले आफूले सिकेका सीप र ज्ञान प्रयोग गरेर सूचना प्राप्त तथा प्रवाह गरी समन्वित प्रतिक्रिया दिन सक्षम हुन्छ ।
जिम्मेवार व्यक्तिले स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रबाट बाढीको सतह चेतावनी तह नजिक पुगेको जानकारी प्राप्त गर्छन् । त्यसपछि तत्काल आपतकालीन केन्द्रको बैठक बोलाइन्छ र सबै सदस्य तथा कार्यदलहरू तयारी अवस्थामा रहन भनिन्छ । पूर्वसूचना कार्यदल र महिला स्वयंसेविकाहरूले मेगाफोन, घरदैलो भ्रमण, झण्डा वा अन्य उपयुक्त सञ्चारमाध्यमबाट सूचना फैलाउँछन् ।
आधा घण्टापछि बाढीको सतह चेतावनी तह पुगेको खबर आउँछ । त्यसपछि चेतावनी साइरन बजाइन्छ र स्वयंसेवकहरूले समुदायमा जानकारी दिन्छन् । जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, अपांगता भएका व्यक्तिजस्ता संवेदनशील समूहहरूलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिन्छ ।
अन्ततः, जब तेस्रोपटक खतरा तहको सूचना प्राप्त हुन्छ, समुदायका सबै व्यक्ति सुरक्षित आश्रयस्थलतर्फ लाग्छन् । खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल र अन्य स्वयंसेवकहरूले आवश्यक सहयोग प्रदान गर्छन् ।
यस वर्ष कञ्चनपुरस्थित साझेदार संस्था पेसवान लाई बाढी पूर्वतयारी अभ्यास अवलोकन गर्न आमन्त्रित गरिएको थियो । उनीहरू १६ वटा सीडीएमसीका दुई सदस्यहरूसहित कार्यक्रममा सहभागी भए । यो अभ्यास प्रभावकारी पाए कि पाएनन् भनेर प्रश्न गर्दा पेसवानका बोर्ड सदस्य दमन चन्दले भने, ‘यो बाढीको एकदमै यथार्थपूर्ण अभ्यास थियो । जब साँच्चै बाढी आउँछ, त्यतिबेला मानिसहरूलाई के गर्ने भन्ने थाहा हुँदैन, त्यसैले यस्तो अभ्यासले आवश्यक कदम चाल्न सजिलो बनाउँछ । हामी आगामी वर्ष कञ्चनपुरमा पनि यस्ता अभ्यासहरू आयोजना गर्न उत्साहित छौं ।’
तस्वीरहरू :

Facebook Comment
Comment