काठमाडौं । सोलुखुम्बुका जितेन राईले कम्बोडिया जान नेपालल प्रहरीको जवानबाट राजीनामा दिए । पासपोर्ट पेस गरेको केही महिनामा उनको भिसा आयो भनियो । केही दिनमै प्लेन टिकट हातमा थमाइदिने बताइयो । त्यसपछि उनले सपिङ पनि गरे । तर, टिकटको पर्खाइ दिन, हप्ता, महिना हुँदै लम्बियो ।
भिसा आयो भनिएको ३ महिना नाघिसक्दा पनि जितन उड्ने प्लेन टिकट आएन । बिस्तारै ‘दलाल’ (दीपक लामा र सन्तोष दनुवार) उनको सम्पर्कबाट हराउँदै गए । बल्ल जितेनलाई महसुस भयो आफू ठगिएको ।
एकातर्फ हुँदाखाँखाको प्रहरीको जागिर गयो, अर्कोतर्फ विदेश जान भनी दिएको रकम डुब्यो । जितने भन्छन्, ‘दशा नै लागेको रहेछ, विश्वास गरेर एक लाख रुपैयाँ पठाएको थिएँ । बाँकी टिकट आएपछि दिनू भनेको थियो । अहिले न यता न उताको भएँ ।’
उनी बारम्बार ‘दलाल’ दीपक लामा र सन्तोष दनुवारलाई फोन गरिरहन्छन् । अक्कल-झुक्कलमा उनको फोन उठ्छ । तर, न प्लेन टिकटको कुरा गर्छन् न पैसा फिर्ता दिने नै ।
नेपालभ्युजसँग सम्पर्कमा आएका राईले ‘दलाल’ले दिएको भिसा पेपर र रकम ट्रान्सफर गरेको बैंक स्टेटमेन्ट आफूसँग रहेको देखाए । नेपालभ्युजले ती ‘दलाल’हरूसँग सम्पर्क गर्दा सन्तोष दनुवारको फोन बन्द पाइयो । तर, दीपक लामाको भने उठ्यो ।
लामा आफूहरूले पैसा लिएको सहर्ष स्वीकार्दै भन्छन्, ‘एक लाख दिनुभएको थियो । त्यो हामीले कम्बोडिया लैजाने व्यक्तिलाई दिइसकेका छौँ । हामीसँग छैन । फिर्ता गराउँछौँ भनिराखेको छौँ त, मिडियामै जानुपर्ने ठूलो कुरा होइन यो ।’
उनी थप्छन्, ‘भाइको फोन नउठाएकाले आत्तिएको होला, त्यस्तो केही पनि होइन । हामी यही २६, २७ गतेभित्र जसरी पनि पैसा फिर्ता गराउँछौँ ।’
पैसा लिएर अर्कैलाई बुझाइसकेको बताउने लामाले ती अर्का व्यक्ति को हुन् खुलाएनन् । न त म्यानपावरको नाम नै भने । बरु भने, ‘हामीले इन्डिभिज्युअल भिसा लगाएका हौँ । २६, २७ गतेसम्म पैसा फिर्ता दिइसक्छौँ ।’
लगत्तै उनको फोन काटियो । कम्बोडियामा नेपाली कामदार व्यक्तिगत भिसा लगाएर पठाउनेबारे थप बुझ्न पुनः कल गर्दा उनको पनि फोन बन्द आयो ।
त्यस्तै, संखुवासभाका मनोज घिमिरेले दुई वर्षअघि ई–सेभेन भिसामा कोरिया जान पासपोर्ट पेस गरे । ४५ दिनभित्र कोरिया पठाइदिन्छु भन्दै उनकै गाउँका चिनजान व्यक्ति कृष्णप्रसाद अधिकारी र महेश थापाले उनीबाट चार लाख रुपैयाँ पनि लिए ।
मनोजका अनुसार काठमाडौं बोलाएर एक महिना विभिन्न तालिम पनि गराए ।
‘हामी २५, ३० जना जति थियौँ । सबैबाट कति कति पैसा उठाएका थिए थाहा भएन । मैले चाहिँ चार लाख दिएको थिएँ । तर, काठमाडौंमा नै तालिम सक्किएपछि अलपत्र पार्दियो,’ मनोजले थपे, ‘सम्पर्कविहीन भएपछि केही सीप नलागेर घरबाट पैसा पठाउन लगाएर घर फर्किएँ ।’
अहिले उनका ती ‘दलाल’ भनिने व्यक्ति कृष्णप्रसाद अधिकारी र महेश थापाले पटकपटक गरी दुई लाख रुपैयाँ फिर्ता गरिसकेका छन् । तर, दुई लाख अझै लिन बाँकी छ । मनोजका अनुसार उनीहरू अहिले पूर्णरूपमा सम्पर्कविहीन भएका छन् ।
नेपालभ्युजको सम्पर्कमा आएका मनोजले आफ्नो पैसा फिर्ता गराउनका लागि प्रहरी प्रधान कार्यालय अपराध महाशाखामा निवेदन पनि दिएको जानकारी दिए । यद्यपि, केही पार लागेको छैन । युवाहरू ‘दलाल’को फन्दामा परिरहन्छन् ।
Facebook Comment
Comment