काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को दोस्रो क्वालिफायरमा आज पञ्जाव किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।
विजेता टोली उपाधिका लागि रोयल च्यालेन्जर्स बैंगलोरसँग भिड्नेछ। उपाधि भिडन्त मङ्गलबार हुनेछ। आज पराजित हुने टोली भने उपाधि दौडबाट बाहिरिनेछ।
यस्तो छ टोलीहरूको स्थिति
पञ्जाव किङ्स : लिग चरणमा अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा बैंगलोरसँग ८ विकेटले पराजित भएको थियो। फाइनल खेल्न दोस्रो मौका पाएको पञ्जाव आजको खेलमा मुम्बईविरुद्ध जित निकाल्दै फाइनलमा स्थान बनाउन चाहन्छ।
श्रेयस ऐरको कप्तानीमा मैदानमा उत्रेको पञ्जाव लिग चरणमा मुम्बईलाई ७ विकेटले हराएको नतिजालाई दोस्रो क्वालिफायरमा पनि निरन्तरता दिने योजनामा छ। सन् २०१४ को उपविजेता पञ्जावले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन र यसपटक पहिलो पटक उपाधि नजिक पुग्न चाहन्छ।
मुम्बई इन्डियन्स: लिग चरणमा चौथो स्थानमा रहेर एलिमिनेटर खेल खेलेको मुम्बईले गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई पनि पञ्जाव सँगको उपाधि भिडन्त पक्का गर्न चाहन्छ। पाँच पटकको च्याम्पियन मुम्बई (२०१३, २०१५, २०१७, २०१९, २०२०) छैटौँ पटक उपाधि नजिक पुग्न पञ्जावलाई हराउने रणनीतिमा हुनेछ। अघिल्लो सिजन लिग चरणबाटै बाहिरिएको मुम्बई यसपटक उपाधि दौडमा छ।
Facebook Comment
Comment