काठमाडौं । जेठ महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले ब्याजदर स्थिर राखेका छन् । जेठका लागि १४ वटा वाणिज्य बैङ्कहरूले अघिल्लो महिनाको ब्याजदरलाई नै यथावत् राखेका हुन् ।
त्यस्तै, ३ वटाले आफ्नो ब्याजदर घटाएका छन् भने तीन वटै बैङ्कले ब्याजदर बढाएका छन् । जेठका लागि एभरेस्ट बैङ्क, नेपाल बैङ्क र सानिमा बैङ्कले ब्याजदर बढाउँदा कुमारी बैङ्क, सिद्धार्थ बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले घटाएका छन् ।
वाणिज्य बैङ्कहरूको औसतमा जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर सामान्य घटेको छ । औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठका लागि ५ दशमलव ९४ प्रतिशत कायम भएको छ । वैशाखमा औसत ब्याजदर ५ दशमलव ९८ प्रतिशत छ ।
जेठका लागि एभरेस्ट बैङ्कले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ दशमलव ६४ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ६४ प्रतिशत ब्याजदर तोकेको छ । बैङ्कले वैशाखमा मुद्दती निक्षेपमा एभरेस्ट बैङ्कले ६ दशमलव ६१ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ६१ प्रतिशत तोकेको थियो ।
यस्तै, नेपाल बैङ्कले जेठका व्यक्तिगततर्फ ५ दशमलव ४५ प्रतिशत ब्याजदर तोकेको छ । संस्थागतमा भने स्थिर राखेको छ । सो बैङ्कले बैङ्कले वैशाखमा व्यक्तिगततर्फ ५ दशमलव १ ५ ब्याजदर तोकेको थियो ।
जेठका लागि सानिमा बैङ्कले व्यक्तिगततर्फ ६ दशमलव ३३ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ५० प्रतिशत ब्याजदर तोकेको छ । वैशाखका लागि बैङ्कले व्यक्तिगततर्फ ५ दशमलव ९५ र संस्थागततर्फ ४ दशमलव २ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
जेठका लागि कुमारी बैङ्कले ० दशमलव ०१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५ दशमलव ९१ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ९१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसैगरी सिद्धार्थ बैङ्कले ० दशमलव २५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५ दशमलव ७५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ५ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ० दशमलव ०६ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बाँकी १४ बैङ्कले भने जेठ महिनाका लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
Facebook Comment
Comment