हेटौँडा । मकवानपुरको हेटौँडा भएको तीन दिने ’प्रदेश युवा सम्मेलन २०८२’ १० बुँदे घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ ।
सम्मेलनले कृषिमा नवप्रर्वतन, डिजिटल सुशासन र प्रविधिमा युवा, समृद्धि र सुशासनका लागि युवालाई निर्णायक शक्ति बनाउने संकल्प सहितको १० बुद्धे घोषणापत्र जारी गरेको हो ।
सम्मेलन प्रदेश युवा परिषद् बागमतीको आयोजनामा ’सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन : बागमतीमा युवा सशक्तीकरण’ भन्ने नाराका साथ आइतबारदेखि सुरु भएको थियो ।
साथै सम्मेलनमा शिक्षा, सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, नीति नेतृत्व र युवा संलग्नतासहितका विषयमा मुख्यमन्त्रीसँग युवा र विज्ञहरूले प्यानल छलफल गरेका थिए ।
परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईद्धारा जारी घोषणापत्रमा प्रदेशको नीति निर्माण, नवप्रवर्तन र उद्यमशीलतामा युवालाई प्रत्यक्ष र अर्थपूर्ण तवरको सहभागिता अपरिहार्य रहनुपर्ने उल्लेख गरिएको छ ।
घोषणापत्रमा तीन तहका सरकारहरूबीच समन्वय गरी युवा परियोजना बैंक स्थापनाको माग गरिएको छ । उक्त बैंकमार्फत युवाले हासिल गरेका सीप मात्र नभइ नवप्रवर्तन सोच र भावी रणनीतिलाई कार्यान्वयन गरी प्रदेशलाई समृद्धि बनाउने नयाँ योजना र नयाँ सोचलाई परियोजनामार्फत कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ ।
नीति निर्माणदेखि बजेट, कानुन मस्यौदासम्म युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग घोषणापत्रमा उल्लेख गरिएको छ । प्रदेश सरकारका सबै सेवा प्रणालीलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रुपान्तरण गर्दै युवा–मैत्री डिजिटल सरकारको अभ्यास सुरु गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।
बागमती प्रदेशको कुल जनसंख्याको करिब ४५ दशमलव ४ प्रतिशत युवा रहेका छन् । ’प्रदेश युवा सम्मेलन २०८२’ घोषणापत्र प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई बुझाइएको छ ।
Facebook Comment
Comment