१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

नेपालभ्युज

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १० जना पर्वतारोहीले आरोहण गरेका छन् । आठ हजार ५८६ मिटर उचाइको यो शिखर चुम्नेमा पाँच जना अन्तर्राष्ट्रिय पर्वतारोही तथा पाँच जना नेपाली छन् ।

आरोहण गर्नेहरूमा कोसोभोकी फ्लुतुरा इब्राहिमी, बेलायती नागरिक एड्रियन माइकल हेस, इरानका अलिरेजा बेहपुर र सेयदमिदरजा हाशेमी तथा संयुक्त अरब इमिरेट्सका सइद अल्मेमारी रहेका छन् ।

यसैगरी, नेपाली शेर्पाहरू ल्हाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पाले पनि सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । आरोही सबै जना सेभेन समिट ट्रेक्सबाट गएका थिए । उनका अनुसार शनिबार दिउँसो टोलीले शिखर मार्ग सुरक्षित गर्दै सफलतापूर्वक आरोहण सम्पन्न गरेको हो ।

टोलीले शुक्रबार साँझ शिविर ४ बाट शिखरतर्फको अन्तिम यात्रा सुरु गरेको थियो । अन्तिम खण्डमा करिब ३५० मिटरभन्दा बढी डोरी फिक्स गर्दै टोलीले चुचुरो पुग्ने मार्ग तय गरेको थियो । यसअघि एलिट एक्सपेडको आठ सदस्यीय फिक्सिङ टोलीले आधार शिविरदेखि करिब आठ हजार ४०० मिटर उचाइसम्मको मार्गमा डोरी फिक्स गर्दै शिखर मार्ग सुरक्षाको जिम्मेवारी पूरा गरेको थियो । सोही तयारीपछि मुख्य आरोहण टोलीले अन्तिम प्रयासमार्फत कञ्चनजङ्घाको चुचुरोमा पाइला टेक्न सफल भएको हो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved