ब्रसेल्स । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनमा बिना शर्त ३० दिनको युद्धविराम लागू गर्न आह्वान गर्दै अन्यथा रुसले थप कडा प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएकी छन् ।
उनले सामाजिक सञ्जाल एक्स मार्फत भनिन्, “हामी ३० दिनको पूर्ण र बिना शर्त युद्धविराम प्रस्तावलाई समर्थन गर्दछौं ।”
यो भनाइ फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूले युक्रेनको भ्रमण गरी युद्धविरामका लागि रुसमाथि दबाब दिन आह्वान गरिरहेका बेला सार्वजनिक गरिएको हो ।
लेयनले भनिन्,“रुससँग शक्ति भए पनि हामी उसमाथि कडा दबाब कायम राख्नेछौं । यदि युद्धविराम उल्लङ्घन भयो भने थप कडा प्रतिबन्ध लगाउन तयार छौं ।”
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनमा युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेका छन् । तर, क्रेमलिनले आफ्नो आक्रमण रोक्ने कुनै संकेत नदिएको र पश्चिमी देशहरूले युक्रेनलाई हतियार आपूर्ति रोक्न नसकेसम्म युद्धविराम असम्भव हुने चेतावनी दिएको छ ।
लेयनले थपिन्,“युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्तिको स्थापना युरोपको सुरक्षा तथा स्थायित्वका लागि अत्यन्त आवश्यक छ ।”
Facebook Comment
Comment