काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई कुनै अफ्ठयारो परेमा इस्लामाबादस्थित राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आवश्यक परेमा नेपाली राजदूतावासका नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने बताएको हो ।
मन्त्रालयले यसका लागि तृतीय सचिव वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुदको मोबाइल नम्बर उपलब्ध गराएको छ । +९२ ३३१३२९३११९ र +९२ ३४०५१७४२६१ नम्बरमा फोन गर्न सरकारको अनुरोध छ ।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसमा निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’
यसअघि भारत र पाकिस्तानबीच तनावग्रस्त स्थिति बनेसँगै पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीले आफ्नो ज्यानको सुरक्षा गरिदिन गुहार माग्दै पत्र पठाएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पाकिस्तानको लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवलजस्ता ठाउँहरूबाट नेपाली विद्यार्थीले गुहार माग्दै आफूलाई इमेल आएको जानकारी दिएकी थिइन् ।

Facebook Comment
Comment