काठमाडौं । भारत र पाकिस्तान बीचको तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ ।
बढ्दाे तनावलाई मध्यनजर गर्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलका बाँकी खेल स्थगित गर्ने निर्णय गरेको क्रिक इन्फोमा समाचार छ ।
यसबारेमा छिट्टै औपचारिक घोषणा हुने बताइएको छ ।
यो निर्णय बिहीबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल पहिलो इनिङ्सकै क्रममा रद्द भएपछि आएको हो । धर्मशालाको विमानस्थल र वरपरका क्षेत्रहरूका विमानस्थलहरू बन्द भएपछि दुवै टोलीका खेलाडी तथा स्टाफलाई शुक्रबार बिहान विशेष रेलमार्फत दिल्ली पुर्याइएको थियो ।
आईपीएल २०२५ मा हालसम्म ५८ खेल भएको छ, जसमा धर्मशालाको रद्द गरिएको खेल पनि समावेश छ ।
समूह चरणमा अझै १२ खेल बाँकी रहेका छन् । जसमा हैदराबाद र अहमदाबादमा ३ दिल्ली, चेन्नई, बेंगलोर र लखनऊमा २ तथा मुम्बई र जयपुरमा हुने १–१ खेल बाँकी छन् ।
त्यसपछि हैदराबाद र कोलकातामा प्ले अफका खेलहरू हुने तालिका थियो ।
यस्तै भारत र पाकिस्तानबीच जारी तनावकै कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेलहरू यूएईमा आयोजना गर्ने निर्णय गरेको छ ।
भारत-पाकिस्तान तनावको प्रभाव : आईपीएलको खेल रद्द, पीएसएल यूएईमा सारियो
Facebook Comment
Comment