अभियन्ता खगेन्द्र सुनारको अराजकता, महिला अधिवक्ताको चरित्रहत्या

नेपालभ्युज

अभियन्ता खगेन्द्र सुनारको अराजकता, महिला अधिवक्ताको चरित्रहत्या

काठमाडौं । आफूलाई दलित अभियन्ता भनेर चिनाउने खगेन्द्र सुनारले सामाजिक सञ्जाल फेसबुकमा एकजना महिला अधिवक्ताको चरित्रहत्या हुनेगरी पोष्ट गरेका छन् । महिला अधिवक्ताको तस्वीर र फोन नम्बर सार्वजनिक गर्दै उनले चरित्र हत्या गर्ने नियतले लामो पोष्ट गरेका छन् ।

अधिवक्ता मनिषा गौतमले १९ वैशाखमा सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेकी थिइन् । नवराज विकसहित ६ जना मारिएको रुकुम पश्चिमको सोती घटनामा उच्च अदालत सुर्खेतले व्यक्ति हत्यामा सजाय सुनाएपनि जातीय छुवाछुत भने नभएको फैसला गरेको थियो ।

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस्तो फैसला गरेपछि सुनारले अदालतको ढोकामा न्यायाधीशलाई गालीगलौज गर्दै नाराबाजी गरेका थिए । सुनारले न्यायाधीशविरुद्ध प्रदर्शन गर्दै राजीनामा मागेका थिए ।

न्यायाधीशलाई गालीगलौज गरेको, नाराबाजी गरेको भन्दै गौतमले सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको मुद्दा दायर गरेकी थिइन् । न्यायाधीश सपना प्रधान मल्ल र नृपध्व निरौलाको इजलासले २३ वैशाखमा सुनारलाई सात दिनभित्र लिखति जवाफ पेश गर्न आदेश दिएको छ ।

गौतमले अदालतको अवहेलनामा मुद्दा दर्ता गरेपछि सुनारले फेसबुकमा गौतमको चरित्र हत्या गर्दै पोष्ट गर्ने गरेका छन् । सामाजिक न्यायका पक्षधर दाबी गर्ने सुनारले गौतमको फोटो र फोन नम्बर फेसबुकमा राख्दै लेखेका छन्, ‘यस्लाई यो नम्बर ९८६०….फोन गरेर सोधौ – त नेपाल बारको होस कि ठमेल बार को ?’

सुनार यतिमै रोकिएका छैनन् । उनले एउटा अर्को पोष्ट गर्दै लेखेका छन्, ‘कालो कोटको आडमा कालो धन्दावाली – तलाई तेरै अदालतमा कानुन पढाउने दम छ हामी संग । त संग दम छ ? दिउसै कालो धन्दा गर्ने नेपाल बार र राती धन्दा गर्ने ठमेलको बारमा के फरक छ ?’

महिलाको चरित्रहत्या हुनेगरी किन पोष्ट गरेको भन्ने नेपालभ्युजको प्रश्नमा सुनारले भने, ‘उहाँ(गौतम)ले पनि मेरोविरुद्ध यस्तै पोष्ट गर्नु भएको थियो ।’

तर, गौतमले सुनारको चरित्र हत्याहुनेगरी पोष्ट गरेकी थिइनन् । न्यायाधीशलाई गालीगलौज गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने भन्दै लेखेकी छिन्, ‘सम्मानित न्यायाधीश ज्यूहरूलाई, तुच्छ किसिमका गाली परिवारप्रति लालछना लगाउने, अनेक शब्द बोल्ने यी व्यक्तिहरूलाई कानुनको दायरामा ल्याइन्छ या ल्याइदैन । फैसलामा चित्त नबुझेमा सर्वोच्च अदालत जाने बाटो हुँदाहुँदै, आफ्ना लागि र आफ्ना अनुकूलताका लागि आदेश फैसला नआउँदा अदालत न्यायपालिका न्यायाधीशप्रति तुच्छ किसिमका शब्द प्रहार गर्नु कदाचित पनि उचित हैन ।’

सुनारले चरित्रहत्या हुनेगरी फेसबुकमा फोन नम्बर नै सार्वजनिक गरेर पोष्ट गरेपछि आफूलाई धम्की र गालीगलौज गर्दै फोन र म्यासेज आउन थालेको अधिवक्ता गौतमले सुनाइन् ।

उनले भनिन्, ‘मलाई मार्ने, बलात्कार गर्ने भन्दै मेरो मोबाइलमा अनेक प्रकारका म्यासेज, फोन आउन थालेका छन् । मैले साइबर ब्यूरो, काठमाडौं प्रशासन र प्रहरीमा निवेदन दिएकी छु ।’

सुनार तीनै हुन्, जसले दलित अधिकारका लागि भन्दै माइतीघरमा नेल कसेर आन्दोलन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved