काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले साउदी अरेबियाका विदेश राज्यमन्त्री अदेल अल जुबैरसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार बिहान नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटका क्रममा आफूले आतंकवादसँग दृढतापूर्वक लड्ने भारतको बिचार साझा गरेको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा बताएका छन् ।
‘बिहीबार बिहान साउदी अरेबियाका विदेश राज्यमन्त्री अदेल अल जुबैरसँग भेटघाट भयो । आतंकवादसँग दृढतापूर्वक लड्ने भारतको विचार साझा गरियो,’ उनले लेखेका छन् ।
यसैबीच इरानका विदेशमन्त्री सैयद अब्बास अरघची पनि भारत आएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ट्विटरमा पोस्ट गर्दै भारत–इरान संयुक्त आयोगको बैठकका लागि अरघची दिल्ली आएको जानकारी दिएका छन् ।
उनले यस बैठकलाई भारत–इरान मैत्रीसन्धिको ७५ औं वार्षिकोत्सवमा द्विपक्षीय सहयोगको समीक्षा र अभिवृद्धि गर्ने अवसरको रूपमा वर्णन गरेका छन् ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी भ्रमणमा गएका बेला जम्मू–कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो । त्यसलगत्तै मोदी भ्रमण छोट्याएर फर्किएका थिए ।
हिन्दू पहिचान भएका पर्यटकलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको हत्या गरिएको थियो ।
Facebook Comment
Comment