पशुपति प्रवेशमा ‘गोरो छाला’लाई निषेध !, ढोकाबाट फर्काइयो एनआरआई दम्पती

हिन्दुहरू मात्र प्रवेश गर्न पाउने पशुपतिनाथ मन्दिरमा हिन्दु र गैर हिन्दु छुट्याउने विधि हो छालाको रङ्ग

पशुपति प्रवेशमा ‘गोरो छाला’लाई निषेध !, ढोकाबाट फर्काइयो एनआरआई दम्पती

काठमाडौं । वैशाख १३ मा सुधीरलक्ष्मण प्रभु र उनकी श्रीमती प्रसन्ना प्रभु पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगे । अमेरिकाबाट उनीहरू पशुपतिनाथ दर्शनकै लागि भनेर अघिल्लो दिन मात्र काठमाडौं पुगेका थिए ।

पशुपतिनाथको ढोकामा खटिएका सशस्त्र प्रहरीले ७५ वर्षीय प्रभु दम्पतीलाई रोक्यो । प्रहरीले उनीहरूलाई सोधे, ‘तपाई हिन्दु हो कि होइन ?’

प्रभु दम्पतीले आफूहरू हिन्दु भएको सुनायो । भारतीय मूलको प्रभु दम्पती गैरआवासीय भारतीय (एनआरआई) हो । मन्दिरको ढोकामा रोकिएको घटनाबारे सुधीर सुनाउँछन्, ‘प्रहरीलाई मैले हामी हिन्दु हौँ भनेँ ।’

हिन्दुहरूका लागि मात्र प्रवेश लेखिएको साइनबोर्ड देखाउँदै प्रहरीले उनहरूलाई मन्दिर प्रवेश दिएन । असाध्यै अनुरोध गरेपछि प्रहरीले उनीहरूसँग हिन्दु प्रमाणित हुने कागजात माग गरे । त्यसपछि सुधीरलाई भाउन्न छुट्यो । प्रहरीलाई आफ्नो पासपोर्ट र सवारी चालक अनुमति पत्र देखाए । तर, ती कागजमा धर्म भने खुलाइएको हुँदैन ।

सुधीरले भारतमा आफ्नो कुल देवताको पूजाआजामा सामेल भएको फोटो देखाए । त्यतिले नपुगेर उनले आफ्नो भिजिटिङ कार्ड देखाए, जहाँ उनी अमेरिकाको ज्याक्सनभिलस्थित गणेश मन्दिरका संस्थापक सदस्य र हिन्दु कलेक्टिभ इनिसिएटिभ अफ नर्थ इस्ट फ्लोरिडाको उपाध्यक्ष लेखिएको थियो । तर, प्रहरीले प्रभु दम्पती हिन्दु भएको विश्वास गर्न सकेन ।

कसैगरी प्रहरीलाई आफू हिन्दु भएको विश्वास दिलाउन नसकेपछि सुधीरले श्रीमतीको घाँटीमा रहेको मङ्गलसूत्र देखाए । ‘प्रहरीले हामी हिन्दु हौँ भनेर विश्वास नै गरेनन्,’ सुधीर सुनाउँछन्, ‘म गायत्री मन्त्रोच्चारण गरेर सुनाउँछु पनि भनेँ ।’

प्रहरीले प्रभु दम्पती हिन्दु भएको विश्वास नगरेपछि उनीहरूले मन्दिर छिर्न पाएनन् । अमेरिकाबाट पशुपतिनाथ दर्शनकै लागि आएका उनीहरू अमिलो मन बनाएर ढोकाबाटै फर्किए ।

‘पशुपतिनाथको दर्शन गर्नकै लागि हामी अमेरिकाबाट यहाँसम्म आयौँ,’ उनको गुनासो छ, ‘तर, हामीलाई छिर्न दिएनन्, हिन्दु भएको प्रमाण मागे । अब मैले के प्रमाण दिने ?’

पशुपतिनाथ मन्दिरमा अङ्ग्रेजी भाषामा हिन्दुहरूका लागि मात्र प्रवेश लेखिएको छ । र, मन्दिरमा हिन्दु धर्मावलम्बी मात्र प्रवेश गर्न पाउँछन् ।

पशुपतिनाथ मन्दिरमा हिन्दुहरूले मात्र प्रवेश पाउने परम्परा ठ्याक्कै कहिलेबाट सुरु भयो भन्ने यकिन मिति छैन । पशुपति विकास कोषका पूर्व सदस्य सचिव तथा संस्कृतिका जानकार गोविन्द टण्डन पशुपतिनाथ मन्दिरमा हिन्दु मात्र प्रवेश गर्न पाउने चलन वि.स १४०६ पछि सुरु भएको बताउँछन् ।

वि.स १४०६ मा बंगालका सुलतान शमसुद्दिनले काठमाडौंमा ठूलो लुटपाट मच्चाएका थिए । त्यतिखेर उनले पशुपतिनाथमा पनि आक्रमण गरेका थिए । पशुपतिनाथको मुख्य मूर्ति तोडफोड गरेका थिए भने मन्दिरको धन सम्पत्ति लुटेका थिए । इतिहासका विवरण अनुसार शमसुद्दिनले पशुपतिनाथको मूर्ति तीन टुक्रा परेका थिए ।

यही आक्रमणपछि पशुपतिनाथ मन्दिरको सुरक्षाका लागि भनेर हिन्दुबाहेक अन्य धर्मावलम्बीलाई प्रवेश निषेध गरिएको टण्डन बताउँछन् । ‘यो आक्रमणपछि मन्दिरको सुरक्षाका लागि भनेर हिन्दुहरूलाई मात्र प्रवेश दिने चलन चलाइयो,’ टण्डन सुनाउँछन् ।

हिन्दु हो वा, होइन कसरी छुट्याइन्छ ?

मन्दिर प्रवेश गर्न खोज्ने व्यक्ति हिन्दु हो कि होइन भनेर छुट्याउने कुनै वैज्ञानिक आधार छैन । टण्डनका अनुसार हिन्दु, बौद्ध, जैन र सिख धर्मावलम्बीहरू मन्दिर प्रवेश गर्न पाउँछन् । उनी भन्छन्, ‘यी सबैलाई सनातनी मान्ने गरिएको छ, त्यस कारण मन्दिर प्रवेश दिइन्छ ।’

तर, मन्दिर प्रवेश खोजेको मान्छे हिन्दु हो कि होइन भनेर जाँच गर्ने जिम्मा ढोकामा उभिएका सुरक्षाकर्मीकै हुन्छ ।

ढोकामा उभिएका सुरक्षाकर्मीले हिन्दु र गैर हिन्दु छुट्याउने मुख्य तरिका हो छालाको रङ्ग । टण्डन भन्छन्, ‘ढोकामा बस्ने पुलिसले गोरो अनुहार देख्यो कि विदेशी भन्दिन्छ । हिन्दु हो कि होइन भनेर छुट्याउने अरू कुनै मापदण्ड छैन । सुरक्षामा बसेको मान्छेले विवेक प्रयोग गर्ने हो ।’

पशुपति विकास कोषका प्रवक्ता रेवती रमण अधिकारी पनि छालाकै रङ्ग हेरेर हिन्दु र गैर हिन्दु छुट्याउने गरिएको बताउँछन् । ‘छालाको रङ्ग हेरेर हिन्दु हो कि होइन भनेर छुटाइन्छ,’ प्रवक्ता अधिकारीले भने ।

छालाकै रङ्गबाट त हिन्दु र गैर हिन्दु कसरी थाह हुन्छ ? भन्ने हाम्रो प्रश्नमा प्रवक्ता अधिकारीले भने, ‘मन्दिरको प्रवेशद्वारमा भएका सुरक्षाकर्मीलाई शङ्का लाग्यो भने हिन्दु हो भनेर खुल्ने कागजात देखाउनुपर्छ ।’

धर्म खुल्ने परिचयपत्र भएका कागजात निकै कम देशले जारी गरेका हुन्छन् । र, पछिल्लो समय हिन्दु धर्मावलम्बीहरू विश्वभर छरिएका छन् ।

आउटफिटर नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीमा पथपर्दशका रुपमा कार्यरत विरोध बुर्लाकोटीका अनुसार पशुपतिनाथ मन्दिरमा गोरो छाला भएकै कारण धेरै पटक हिन्दु पर्यटकलाई रोकिएको छ । उनी भन्छन्, ‘नेपाल र भारतभन्दा बाहिर पनि हिन्दु धर्म मान्ने मान्छे हुन्छन् भन्ने कुरा यहाँ बुझ्दैनन् । इन्डोनेशियामा धेरै मान्छे हिन्दु धर्म मान्छन्, पशुपतिनाथ दर्शन गराउन भनेर इन्डोनेशियाका पर्यटक लिएर जाँदा हरेक पटक हामीले सास्ती भोग्नुपर्छ ।’

छालाको रङ्गका आधारमा हिन्दु र गैरहिन्दु छुट्याउने तरिकाले गर्दा दुःख पाउने प्रभु दम्पती मात्र होइनन् । बेलायतको लेबर* पार्टीबाट सांसद भइसकेका वीरेन्द्र शर्मा पनि गोरो छालाकै कारण पशुपति छिर्दा सास्ती भोग्नेमध्ये एक हुन् । गोविन्द टण्डनका अनुसार उनलाई पनि सुरक्षाकर्मीले गोरो छालाकै कारण रोकेका थिए ।

टण्डन सुनाउँछन्, ‘वीरेन्द्र शर्मा हिन्दु नै हुनहुन्थ्यो । एकपटक उहाँलाई मन्दिरको ढोकामा प्रहरीले रोकेर प्रवेश दिएनन् । गोरो छाला देखेकै कारण प्रहरीले रोकेपछि उहाँ हामीकहाँ आउनुभयो र हामीले पछि मन्दिरको दर्शन गरायौँ ।’

पशुपतिनाथ मन्दिर प्रवेश गर्न नपाएपछि दुःखी भएका प्रभु दम्पतीले विकास कोषका नाममा एउटा पत्र पनि लेखेका छन् । उनले गुनासो पत्रमा लेखेका छन्, ‘हामी हजारौँ माइल टाढाबाट आराध्यदेव श्री पशुपतिनाथको दर्शनका लागि आएका हौँ भन्ने हाम्रो हार्दिक आग्रह र बिन्ती पनि प्रहरीले सुनेनन् ।’

आफू हिन्दु हुँदा पनि पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएर अपमानित गरिएको उनले गुनासो गरेका छन् । कोषलाई सम्बोधन गर्दै लेखिएको पत्रमा उनले संसारभरि फैलिएको हिन्दु डायस्पोराका मान्छेलाई भविष्यमा यस्तो लज्जास्पद र पीडादायी अनुभव नदिलाउन पनि अनुरोध गरेका छन् ।

‘म तपाईंहरूलाई यो गम्भीर र अपमानजनक प्रणालीको तत्काल समीक्षा गर्न अनुरोध गर्दछु,’ उनले गुनासो पत्रमा लेखेका छन् ।

(* यसअघि प्रकाशित समाचारमा वीरेन्द्र शर्मालाई ‘नेपाली मूलका’ भनिएकोमा सच्याइएको छ। शर्मा भारतीय मूलका बेलायती नागरिक हुन्।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved