स्थायी युद्धविराम बिना संवाद सम्भव छैन : हमास

नेपालभ्युज

स्थायी युद्धविराम बिना संवाद सम्भव छैन : हमास
फाइल फोटो

गाजा । हमासका एक वरिष्ठ अधिकारीले इजरायलसँग कुनै नयाँ युद्धविराम वा बन्दी विनिमयसम्बन्धी वार्तामा सहभागी नहुने स्पष्ट धारणा व्यक्त गरेका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘इजरायलले गाजामा अस्थायी युद्धविरामको प्रस्ताव अघि सारेको छ, तर यसपछि पुनः आक्रमण सञ्चालन गर्ने आशङ्का रहेकोले हामी यस्तो प्रस्ताव स्वीकार गर्न सक्दैनौं ।’

उनले थप स्पष्ट पारे, ‘हामीले मध्यस्थकर्तामार्फत आफ्नो आधिकारिक अस्वीकृति जानकारी गराइसकेका छौं । युद्ध स्थायी रूपमा अन्त्य हुने सुनिश्चितता बिना कुनै पनि प्रकारको वार्तामा भाग लिने स्थिति छैन ।’ हमास अधिकारीले गाजावासीमाथि भोकमरी सिर्जना गरी दबाब दिन खोजिएको आरोपसमेत लगाए । उनले भने,’यस किसिमको सामूहिक दण्डको नीति इजरायलको उद्देश्य प्राप्तिमा सहायक हुने छैन ।’

इजरायली प्रशासनले सन् २०२५ मार्च २ देखि गाजामा वस्तु तथा आपूर्तिको प्रवेश रोकिदिएको छ । यो निर्णय जनवरी महिनाको प्रारम्भिक युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछिको प्रतिक्रिया स्वरूप लिइएको हो । संयुक्त राष्ट्रसङ्घले गाजामा गम्भीर मानवीय सङ्कट उत्पन्न हुने चेतावनी दिँदै, विशेष गरी बालबालिकामा कुपोषण तथा तीव्र भोकमरीका लक्षण देखिन थालेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार, इजरायली अधिकारीहरूले मानवीय सहायता वितरणको प्रणाली परिवर्तन गरी सैनिक नियन्त्रणमा रहेका वितरण केन्द्रहरूमार्फत राहत सामग्री प्रवाह गराउने प्रयास गरिरहेका छन्, जसले युएन एजेन्सी र गैरसरकारी संस्थाहरूको स्वतन्त्रतामा असर पार्न सक्ने सम्भावना छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार गाजामा ‘सैन्य अभियान’ सञ्चालन गर्ने घोषणा गरेका छन् । उनको सुरक्षा मन्त्रिपरिषदबाट स्वीकृत उक्त योजनाले गाजामाथिको कारबाही थप तीव्र पार्ने, राहत वितरणको व्यवस्थापन गर्ने तथा जनसङ्ख्यालाई गाजाको दक्षिण भागतर्फ सार्ने रणनीति अवलम्बन गर्ने लक्ष्य लिएको छ ।
प्रधानमन्त्री नेतन्याहूले आफ्नो भनाइमा भनेका छन्, “हमासलाई पराजित गर्नु र बन्धकहरूको सुरक्षित मुक्तिको सुनिश्चितता गर्नु हाम्रो प्रमुख उद्देश्य हो ।”

सन् २०२३ अक्टोबरदेखि सुरु भएको सैन्य कारबाहीमा हालसम्म ५२ हजार भन्दा बढी प्यालेस्टिनी नागरिकको ज्यान गएको पुष्टि भएको छ । तीमध्ये करिब दुई हजार ५०० जनाको मृत्यु सन् २०२५ मार्च १८ पछि आक्रमण पुनः सुरु भएयता भएको बताइएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved