काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बाराबंकी शहरमा मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। भारतीय प्रहरीको गोली लागेर एक नेपाली नागरिक घाइते भएका छन्।
भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार, मंगलबार बिहान राति रेन्दुवा पल्हडी मोडमा शंकास्पद व्यक्तिहरूको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो। मोटरसाइकलमा सवार उनीहरूलाई रोक्न खोज्दा प्रहरीतर्फ गोली चलाएपछि जवाफी कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नेपाली नागरिक टीलु पहाडी भनिने तिलक थापा, बिहारका मोहम्मद साजिद अन्सारी र मोहम्मद खुर्शीद रहेका छन्। गोली लागेर घाइते भएका थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई भारतीय नागरिकलाई केही भएको छैन।
प्रहरीका अनुसार, थापाले भारतमा चोरी भएका मोटरसाइकल नेपालमा ल्याएर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले यो गिरोहबाट चोरीका ५ वटा मोटरसाइकल, ८८ ग्राम चाँदी, २ हजार १९० भारतीय रुपैयाँ नगद र .३१५ बोरको एक थान हतियारसहित केही गोली बरामद गरेको जनाएको छ।
Facebook Comment
Comment