विद्यालय शिक्षा विधेयकमा दफावार छलफल सकियो

नेपालभ्युज

विद्यालय शिक्षा विधेयकमा दफावार छलफल सकियो

काठमाडौं । संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सम्पन्न गरेको छ। आइतबार बसेको अन्तिम बैठकले विधेयकका सबै दफाहरूमा सहमति जुटाएको हो।

शिक्षा समिति सचिव दरशथ धमलाले प्रतिवेदन लेखनका लागि थप समय आवश्यक भएको जानकारी दिए । उनका अनुसार अब शिक्षा समिति सचिवालयले प्रतिवेदन तयार गर्नेछ र त्यसपछि उपसमितिमा पारित गरी शिक्षा समितिमा पेश गरिनेछ।

प्रतिवेदन लेखन र समितिमा पेश गर्न समय अभाव भएकाले सोमबार बस्ने शिक्षा समितिको बैठकमा थप समय माग गर्ने निर्णय भएको सचिव धमलाले बताए।

उपसमितिलाई विधेयकमाथि छलफल गर्न ३५ दिनको समयसीमा दिइएको थियो र यस अवधिमा ३९ वटा बैठक बसेका थिए। सचिव धमलाका अनुसार दफावार छलफलका क्रममा कुनै पनि विषयमा असहमति नरहेको र सबै बुँदामा सहमति जुटेको थियो ।

‘आज अन्तिम बैठकले विधेयकमाथिको दफावार छलफल सकाएको छ। प्रतिवेदन लेख्न बाँकी छ। त्यसका लागि केही दिन समय लाग्छ। भोलि बस्ने शिक्षा समितिको बैठकमा थप समय माग गर्ने निर्णय भएको छ’, धमलाले भने।

१६३ दफा रहेको विधेयकमा १ हजार ७५८ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। समितिले यसअघि प्रदेशस्तरमा समेत छलफल गरी सात वटा प्रतिवेदन तयार पारेको थियो। उपसमितिले विधेयक, संशोधन प्रस्ताव, प्रादेशिक प्रतिवेदन र विज्ञहरूको सुझावलाई आधार मानेर दफावार छलफल गरेको हो।

नेपाल शिक्षक महासंघसँग असार १५ गतेभित्र प्रतिनिधिसभा बैठकमा विधेयक पेश गर्ने सहमति भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved