काठमाडौं । सत्ता गठबन्धनभित्र चर्किरहेको असन्तुष्टि र सरकार परिवर्तनको हल्लाका बिच भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले अकस्मात् तीन दिने भ्रमणका लागि बुधवार काठमाडौं आइपुगेका थिए ।
देउवा बैंककमा रहँदा माओवादी केन्द्रले संसदीय दलको बैठकमार्फत उनी फर्किए लगत्तै सत्ता समीकरण परिवर्तनका लागि छलफल हुने बताएको थियो । शेरबहादुर देउवाले भने एमालेसँगको गठबन्धनमा कुनै समस्या नरहेको र समीकरण कायमै राख्ने विश्वास केपी शर्मा ओलीलाई फोनमार्फत नै गराइसकेका थिए । त्यसको पाँच दिनपछि वैशाख १७ मा भारतीय विदेशमन्त्री एस. जयशंकरको विशेष दूतका रूपमा नेपाल आएका चौथाइवालेले एमालेलाई झस्काउने गरी भेटघाटको सुरुवात गरिदिए ।
नेपाल बसाइका दौरान उनले विभिन्न राजनीतिक दलका डेढ दर्जन नेतालाई भेट गर्दै शुक्रवार स्वदेश फर्किसकेका छन् । भेटका क्रममा उनले नेपालको आन्तरिक राजनीतिबारे आफ्ना जिज्ञासाहरू राखे भने सीमावर्ती क्षेत्रका मदरसा र इसाई मिसनरीका गतिविधिबारे विशेष चिन्ता प्रकट गरेका थिए ।
देउवासँगै भेट्न आरजुले सारेकी थिइन् भेटको समय
कार्यतालिका अनुसार चौथाइवालेको राजनीतिक भेटको सुरुवात परराष्ट्रमन्त्री आरजु राणासँग सिंहदरबारमा गर्ने तय थियो । तर परराष्ट्रमन्त्री राणाले चौथाइवाले मन्त्रालयमा नभएर घरमै भेट्ने जानकारी दिएपछि कार्यतालिका परिवर्तन भयो ।
काठमाडौंस्थित भारतीय राजदूतावासले बनाएको चौथाइवाले र काङ्ग्रेस सभापतिबीच वान टू वान भेटवार्ताको कार्यतालिका परराष्ट्रमन्त्री राणाको कारण परिवर्तन हुन पुग्यो । चौथाइवालेको भ्रमणको संयोजन गरिरहेको भारतीय राजदूतावासलाई कार्यतालिका फेरबदलको तनाव आइपर्यो । परराष्ट्रमन्त्री राणालाई देउवाले केही बोलिदिएर आफ्ना राखीवाला भाइको चित्त दुखाइदेलान् भन्ने पिर रहेछ । दूतावासले कूटनीतिक प्रोटोकल अनुसार तय गरेको कार्यतालिका राणाकै कारण अनौपचारिक बनाउने परिस्थिति आइलाग्यो ।
चौथाइवालेसँगको भेटमा काङ्ग्रेस सभापति देउवा कमै बोले । उक्त भेटमा परराष्ट्रमन्त्री राणा नै धेरै बोलिन् । चौथाइवालेले एमालेसँगको गठबन्धन सम्बन्धका सवालमा जिज्ञासा राखेका थिए । उक्त विषयमा देउवाले जवाफ दिएनन् । त्यस विषयमा राणाले ब्रिफिङ गरेकी थिइन् । ‘एमालेसँगको सम्बन्ध ठीकठाक छ । सार्वजनिक मञ्चमा काङ्ग्रेसभित्रैबाट उठेका प्रश्नहरू व्यक्तिगत हुन् ।’
देउवासँग एकल सवाल जवाफ गर्न चाहेका थिए चौथाइवालेले । त्यसका लागि उनीसँग केही प्रश्न पनि थिए । तर उक्त प्रश्न सोध्ने मौका उनले पाएनन् ।
त्यसपछि उनले सरकारको चर्को आलोचना र विरोध गरिरहेका काङ्ग्रेस नेता शेखर कोइरालासँग डिनर सहितको भेट गरे ।
सरकार परिवर्तनको अफवाह चलिरहेकै बखत चौथाइवालेले म्याराथन शैलीमा भेटघाटलाई निरन्तरता दिए । गृहमन्त्री रमेश लेखकबाट राजनीतिक भेटघाटको सुरुवात गरेका चौथाइवालेले, काङ्ग्रेस सभापति देउवा, परराष्ट्रमन्त्री राणा, सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका महामन्त्री गगन थापा, र सरकारको प्रखर आलोचक काङ्ग्रेस नेतासँग भेट टुङ्ग्याए । पहिलो दिनको भेट सत्ता साझेदार दलका नेतासँग गरेका उनले दोस्रो दिनको भेटमा सत्ता नेतृत्वकर्ता एमालेलाई थप सशङ्कित गराउने किसिमले गरिदिए । दोस्रो दिन उनले प्रतिपक्षी दलका नेतासँग मात्रै भेट गरे ।
ओलीले बोलाएको बैठक छाडेर चौथाइवालेसँग प्रचण्डको भेट
चौथाइवालेले दोस्रो दिन प्रतिपक्षी दलका नेताहरूलाई मात्रै भेटे । दोस्रो दिनको भेटघाटको सुरुवात उनले एकीकृत समाजवादीका नेता माधव नेपालको निवासबाट सुरु गरे । त्यसपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका थिए । प्रधानमन्त्रीले बोलाएको शीर्ष नेताको बैठक नै छोडेर प्रचण्ड चौथाइवालेसँगको भेटमा बसे ।
चौथाइवालेसँग भेटघाट चलिरहेकै बेला प्रधानमन्त्री ओलीका तर्फबाट उनको सचिवालय र सत्ता साझेदार दल काङ्ग्रेस सभापति देउवाले प्रचण्डलाई तारनतार फोन गरे । उच्च स्रोतका अनुसार प्रचण्डले देउवाको फोन उठाए । तीन दलका शीर्ष नेताबीच समसामयिक राजनीतिक परिस्थितिबारे वार्ता थियो । अघिल्लो पटक पनि तीन दलका शीर्ष नेताको बैठक राखे लगत्तैको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई बर्खास्त गरिदिएका थिए । यसपटक पनि यस्तै केही हुनसक्ने आशङ्कासहित प्रचण्ड बैठकमा जान अनिच्छुक देखिए । देउवाको फोन रिसिभ गर्दै प्रचण्डले भनिदिए, ‘साक्षी बस्नका लागि म आउँदिन ।’
प्रधानमन्त्री ओलीकै सचिवालयमा रहेका नेता अग्नि खरेल लगायतले फोन गरिरहे । तर, प्रचण्डले फोन उठाएनन् । सरकार ढाल्ने प्रचार गरिरहेका प्रचण्ड शीर्षस्थ नेताकै बैठक स्थगित गरेर भारतीय नेतासँग भेटमा बस्दा सत्तारूढ दलभित्र बेचैनी स्वाभाविक थियो ।
प्रचण्डसँगको भेटपछि चौथाइवालेले काङ्ग्रेसकै नेताहरू महामन्त्री गगन थापा, उदय शमशेर राणा, माओवादी नेताहरू उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनसँग भेट गरे । लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग होटेल मेरियट्समा नै भेट गरे । उपेन्द्र यादव दिल्लीमै भएकाले चौथाइवालेले उतै भेट गरिसकेका थिए । चौथाइवाले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । चौथाइवालेले दोस्रो दिनको भेट साँझको डिनरसहित काङ्ग्रेस नेता एनपी साउदको घरमा बिट मारे ।
जाँदाजाँदै बाटोमै भेटे शंकर पोखरेललाई
तेस्रो दिन बिहान सबैभन्दा पहिले उनले एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारस्थित मन्त्रालयमा नै पुगेर गरे । तीन दिने भ्रमणको अन्तिम दिन चौथाइवालेले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेसँग आफैँ बसिरहेको होटेल मेरियट्समा भेट गरे ।
अरू दलको तुलनामा चौथाइवालेले एमालेका कम नेतालाई भेटेका थिए । मेरियट्सबाट भारतीय दूतावाससँग बिदाबारी भएर निस्किएका चौथाइवालेले एमाले महासचिव पोखरेललाई विमानस्थल जाने बाटो पर्ने होटेल द्वारिकामा बोलाए । पोखरेल पनि तत् समयमा पुगे । पोखरेलसँगको भेटसँगै उनले राजनीतिक भेटघाट सकाएर स्वदेश फर्किए ।
चिन्ता धार्मिक आतंकवादको, चासो राजनीतिको
चौथाइवाले निकट उच्च स्रोतका अनुसार उनी ‘भारतको पहलगाममा भएको आतंकवादी हमलाको विषयलाई जोडेर नेपालमा भइरहेका धार्मिक गतिविधिबारे जानकारी गराउने र नेपालको राजनीतिक अवस्थाबारे बुझ्ने’ जिम्मेवारीसहित काठमाडौं आइपुगेका थिए ।
भारतीय विदेशमन्त्री एस. जयशंकरका अनौपचारिक दूत बनेर आएका चौथाइवालेले करिब डेढ दर्जनभन्दा बढी नेताहरूसँगको भेटमा नेपालको राजनीतिबारे धारणाभन्दा बढी जिज्ञासा राखेका थिए । सरकार फेरबदल, सत्ता गठबन्धनभित्रका असन्तुष्टि, राजावादीहरूको आन्दोलनलगायत विषयमा उनले सामान्य जवाफ दिँदै त्यस्ता गतिविधि बढिरहेको सन्दर्भमा जिज्ञासा राखे ।
तर, उच्चस्तरका अधिकांश भेटमा नेपालमा मस्जिद, मदरसा र मिसनरीका गतिविधि बढिरहेको दाबीसहित त्यसबाट उत्पन्न सुरक्षा चुनौतीबारे चिन्ता प्रकट गरेका थिए । प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेल, गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री राणा अनि पूर्वप्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग उनले तथ्यांकसहित नेपाल भारत सीमावर्ती क्षेत्रमा भइरहेका गतिविधिका बारे आफूसँग भएका तथ्याङ्क समेत राखेका थिए ।
चौथाइवालेले गरेका दाबीहरू यस्ता थिए:
भारतसँग सीमा जोडिएको तराई-मधेसमा केही वर्षयता मदरसा र मस्जिदको संख्या उल्लेखनीय हिसाबले बढेको छ । त्यसमा मुख्य तीनवटा कारण छन्; पहिलो, बंगलादेशबाट भित्रिएका रोहिंग्याहरूको संख्यामा वृद्धि । दोस्रो, भारतले कश्मिरमा ३७० हटाएपछि सिफ्ट भएका आतंकवादी गतिविधिहरू । र, तेस्रोमा नेपालका केही आइएनजीओमा भइरहेको विदेशी लगानी ।
साथै, कृश्चियन मिसनरीहरूले विदेशी लगानीमार्फत धर्मान्तरण बढिरहेको विषय पनि उनले उठाएका थिए । उनले उठाएका अघिल्ला तीनवटा विषय मुस्लिम समुदायसँग सम्बन्धित थिए भने कृश्चियन समुदायसँग जोडिएको विषय पनि सँगै राखेका थिए ।
यी विषयलाई नेपालले नियन्त्रण गर्नुपर्ने भन्दै चौथाइवालेले राखेको कुरा स्रोतले उद्धृत गर्यो, ‘यसमा नेपालले तत्काल ध्यान दिन जरुरी छ । अहिले भारतमा भइरहेका आतंकवादी क्रियाकलाप भोलिका दिनमा नेपालतर्फ केन्द्रित हुने खतरा बढेको देखिन्छ । अहिले हाम्रो सीमावर्ती क्षेत्रमा जे भइरहेको छ त्यसले भारत मात्रै होइन नेपाललाई पनि चुनौती थप्ने छ ।’
उनले विगत केही समययता तराई क्षेत्रमा भइरहेका साम्प्रदायिक घटनाहरूको विवरण राख्दै सीमा क्षेत्रका सुरक्षाकर्मीमार्फत मिलेर काम गर्नुपर्ने सुझाव समेत राखेका थिए ।
चौथाइवालेले राखेका विषयमा प्रधानमन्त्री ओलीले त्यस्तो अवस्था नरहेको प्रतिक्रिया दिएका थिए । ‘त्यस्तो अवस्था यहाँ छैन । हामी हाम्रो देशमा भइरहेका सबै गतिविधिबारे जानकार छौँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोत भन्छ ।
ओलीको जवाफपछि चौथाइवालेले केही संघ संस्थाका नामै लिएर उनीहरूमार्फत लगानी भइरहेको भन्दै गम्भीर हुनुपर्ने अवस्था रहेको दोहोर्याएका थिए ।
परराष्ट्रमन्त्री राणाले धर्मान्तरणको विषयमा नेपालसँग स्पष्ट कानुनको व्यवस्था भएकाले त्यस्तो हुन नसक्ने र नदिने जवाफ दिएकी थिइन् ।
प्राय: सबै भेटमा उनले पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा नेपालले आवाज उठाएकोमा धन्यवाद दिएका थिए । तर काँग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री राणासँगको भेटमा भने उनले संसद्मा काङ्ग्रेस सांसदले बोलेको विषयमा समेत प्रश्न गरेका थिए । त्यसमा परराष्ट्रमन्त्री राणाले भनेकी थिइन्, ‘सांसदहरूले आफ्नो कुरा राख्नु भएको होला । तर, त्यसमा हामीले हाम्रो धारणा राखिसकेकै छौँ । हामीलाई सुन्नू, अरूले भनेको कुरामा धेरै ध्यान नदिनू’
ओलीको उही चासो
चौथाइवालेले राखेका विषयमा छलफल सकिएपछि अन्तिममा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका विषयमा जिज्ञासा राखेका थिए ।
स्रोतका अनुसार चौथाइवालेले पहलगाम घटनापछि तत्काल परिस्थिति असहज भएको भन्दै जानकारी दिएका थिए । ‘आन्तरिक तनाव चलिरहेको छ । प्रधानमन्त्री मोदी आफैँले रसियालगायत मुलुकको भ्रमण स्थगित गर्नु भएको छ । यस्तो अवस्थामा पाहुनालाई बोलाउँदा राम्रो सन्देश जाँदैन ।’
चौथाइवालेले आश्वस्त पार्दै भने, ‘परिस्थिति मत्थर भएपछि भ्रमणको विषयलाई अगाडि बढाउनु पर्छ ।’
Facebook Comment
Comment