आवासीय चिकित्सक र सरकारबीच सहमति, आन्दोलन स्थगित

नेपालभ्युज

आवासीय चिकित्सक र सरकारबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं । आवासीय चिकित्सक र सरकारबीच तीनवटा विषयमा सहमति भएको छ ।

शनिवार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आन्दोलनारत आवासीय चिकित्सकहरुबिच भएको छलफलपछि तीन बुँदे सहमति भएको हो ।

चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन, म्याचिङका चिकित्सकहरूको यथाशीघ्र व्यवस्थापन र बिदा सम्बन्धी मागहरूमा सरकारसँग सहमति भएपछि आवासीय चिकित्सकहरूले आफ्नो आन्दोलन स्थगित गरेका हुन् ।

सहमति अनुसार, चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गरिनेछ, म्याचिङका चिकित्सकहरूलाई तत्काल काममा फर्काउन आयोगलाई निर्देशन दिइनेछ, र आवासीय चिकित्सकहरूको बिदा सम्बन्धी विषयमा कार्यदल गठन गरी स्वास्थ्य मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गर्ने र अन्य विषयमा सम्बन्धित निकायलाई निर्देशन दिइनेछ।

सहमतिपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्यमन्त्री पौडेलले आवासीय चिकित्सकहरूका जायज मागहरू पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले नेपाल चिकित्सक संघको नेतृत्वमा भएको आन्दोलनलाई सकारात्मक रूपमा लिँदै सहमति कार्यान्वयनमा इमान्दार रहने विश्वास दिलाए। मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका निर्णयहरू कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक वातावरण बनाउने पनि जानकारी दिए।

आवासीय चिकित्सकहरूले आठौँ तह सरह निर्वाह भत्ता, सुत्केरी बिदा, बिरामी बिदा र ड्युटी आवर लगायतका माग राखेका थिए। सहमतिसँगै निजी मेडिकल कलेजहरूले पनि आठौँ तह सरह भत्ता दिने प्रतिबद्धता जनाएका छन् भने विभिन्न कलेजमा आवासीय चिकित्सकहरू काममा फर्किसकेको बताइएको छ।

स्वास्थ्यमन्त्री पौडेलले सबै मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकहरूका लागि सहज वातावरण बनाउन आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved