एनआरएनएलाई एकताबद्ध बनाएर अघि बढाऔं : डा भट्टराई

नेपालभ्युज

एनआरएनएलाई एकताबद्ध बनाएर अघि बढाऔं : डा भट्टराई

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

गैरआवासीय नेपाली सङ्घ उच्चस्तरीय समितिले शनिबार यहाँ आयोजना गरेको एकता महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एकताबद्ध हुँदै एनआरएनएले नेपालमा आएर लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

संविधानसभाबाट बनेको संविधानमा गैरआवासीय नेपालीलाई नागरिकताको अधिकार भए पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको धारणा राखे । संविधान संशोधन गरेर भए पनि गैरआवासीय नेपालीलाई समान अधिकार दिनुपर्ने भन्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले गाउँगाउँमा हजारौँ बिघा जग्गा बाँझो रहेको अवस्थामा दुई रोपनीभन्दा बढी जग्गा किनेर लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई रोक्न नहुने जिकिर गरे ।

व्यक्तिको राजनीतिक विचार हुने भए पनि एनआरएनएमा सङ्कीर्ण राजनीतिक सोच हुन नहुनेमा उनको जोड थियो ।

जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राईले एनआरएनएले विप्रेषणमात्र नभई लगानी पनि भित्र्याएकाले दुरुत्साहन गर्न नहुने बताए। एनआरएनएको नागरिकता समस्यालाई सरकारले तत्काल समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

संयोजक डा शेष घलेले यही मे ६ तारिखसम्म एकता महाधिवेशन सम्पन्न गर्नु भन्ने सर्वोच्च अदालतको आदेशअनुसार भएको यो महाधिवेशन एकताको हुने बताए । स्थापनाको २२ वर्षसम्म एनआरएनए समसामयिक हुन नसकेकाले यसलाई अब पुनःसंरचना गरिनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा एनआरएनएको उच्चस्तरीय समितिका सदस्यहरू देवमान हिराचन, राजेन्द्रकुमार शर्मा, डा केशव पौडेल, महेश श्रेष्ठ, रविना थापा, कुल आचार्य, विनोद कुँवर, जानकी गुरुङलगायतले एकता महाधिवेशनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिएका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved