काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोटका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। टोलीको कप्तानी इन्दु बर्माले गर्ने भएकी छन् भने पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
यसअघि उपकप्तान रहेकी सीता राना मगर चोटका कारण टोलीमा अटाएकी छैनन्। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार यू-१९ टोलीकी कप्तान समेत रहेकी पूजालाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो।
आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिता मे ९ देखि २० सम्म थाइल्यान्डमा आयोजना हुनेछ। नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ बहराइन र हङकङ पनि छन्। प्रतियोगिता तालिका अनुसार नेपालले मे ९ र १३ मा हङकङसँग तथा मे १० र १५ मा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोली:
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनीषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा।
Facebook Comment
Comment