काठमाडौं । पाकिस्तानी रेन्जर्सले बन्धक बनाएका भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का जवान पूर्णमकुमार साओका बुबा भोलानाथ साओले आफ्नो छोराको सुरक्षित फिर्ती सुनिश्चित गर्न केन्द्र सरकारलाई अपिल गरेका छन् ।
यद्यपि, यस सम्बन्धमा सरकारबाट अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको नभएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
पूर्णमकी श्रीमती रजनीले पनि आफ्नो पतिको सुरक्षित र तत्काल फिर्तीका लागि केन्द्र र राज्य सरकारलाई अपिल गरेकी छिन् ।
पश्चिम बङ्गालको हुगली जिल्लाको रिश्रामा बस्ने पूर्णमको परिवारलाई उनका एक साथीले फोनबाट घटनाको बारेमा जानकारी गराए ।
बुबा भोलानाथ साओका अनुसार पूर्णम गत महिना बिदामा घर आएका थिए र मार्च ३१ मा पठानकोट फर्किएका थिए ।
श्रीमती रजनी भन्छिन्, ‘पहलगाम घटनापछि मैले श्रीमानसँग फोनमा कुरा गरेँ । उहाँ पाकिस्तानी रेन्जर्सको हिरासतमा रहेको गत बुधबार राति उहाँका एक साथीले मलाई जानकारी गराए ।
उनका अनुसार पूर्णम गत महिना प्रयागराजमा आयोजित कुम्भको समयमा पनि ड्युटीमा थिए ।
पूर्णमका बुबाले भने, ‘बुधबार फोन गरिएको थियो । तर कुनै प्रतिक्रिया आएन । त्यसपछि राति हामीले उनी पाकिस्तानको हिरासतमा रहेको जानकारी पायौं । यसपछि बीएसएफका एक वरिष्ठ अधिकारीसँग फोनमा कुरा गरियो ।
परिवारका सदस्यहरूलाई अहिले पूर्णमलाई कहाँ राखिएको छ भन्ने थाहा छैन ।
‘बुधबार हुगलीको रिश्राका एक बहादुर बीएसएफ जवान पीके सावलाई पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको छ । आज मैले उनको परिवारसँग कुरा गरेँ र उनीहरूलाई आश्वासन दिएँ कि उनी एक्लो छैनन् । भारत सरकार उनीहरूसँगै दृढतापूर्वक उभिएको छ,’ केन्द्रीय मन्त्री तथा राज्य भाजपा अध्यक्ष सुकान्त मजुमदारले आफ्नो सामाजिक सञ्जाल एक्समा यसबारे लेखेका छन्, ‘केन्द्रीय सरकारले यस सैनिकलाई उनको मातृभूमिमा फिर्ता ल्याउन कूटनीतिक र प्रशासनिक दुवै तरिकाले हरसम्भव प्रयास गरिरहेको छ ।’
Facebook Comment
Comment