काठमाडौं । नेपाल भ्रमणमा आएका ब्राजिलियन महान् फुटबलर रोबर्टो कार्लोस फ्रि–किक स्पेसलिस्टका रुपमा चिनिन्छन् । उनले १०५ किलोमिटर प्रतिघण्टाको गतिमा फ्रि–किक हान्ने गरेका थिए ।
लेफ्ट ब्याक पोजिसनबाट खेल्ने कार्लोसले आफ्नो खेल जीवनमा क्लब र राष्ट्रिय टोलीमा गरी ४९ फ्रि–किक गोल गरेका छन् । तीमध्ये सन् १९९७ मा फ्रान्सविरुद्ध गरेको गोल विश्वकै सर्वोत्कृष्ट फ्रि–किक गोल मानिन्छ ।
फ्रान्सविरुद्धको उक्त मैत्रीपूर्ण खेलमा २४ वर्षीय युवा खेलाडी कार्लोसले हानेको फ्रि–किक गोललाई ‘असम्भव गोल’का रुपमा चिनिन्छ । हुन पनि त्यसयता यो किसिमको गोल देख्न पाइएको छैन ।

कार्लोसले ३५ मिटरको दूरीबाट सो गोल गरे । जसले फ्रान्सका गोलकिपर फाबियन बार्थेजलाई चकित पारेको थियो । कार्लोसले हानेको बल दायाँतर्फ गएर तीव्रतासाथ बायाँतर्फ घुमेको थियो । जसले ’नकलबल’ प्रभाव उत्पन्न गर्यो ।
यो गोलले भौतिकीका नियमलाई चुनौती दिएको वैज्ञानिकहरूले व्याख्या गरेका छन् । फ्रान्सेली वैज्ञानिक क्रिस्टोफ क्लानेट र डेविड क्वेरेले गोलको ट्राजेक्टोरी अध्ययन गरेर यसको व्याख्या गरेका हुन् । अध्ययनपछि उनीहरूले पत्ता लगाए– घुमिरहेको बलको ट्राजेक्टोरी एक सर्पिलजस्तै हुन्छ, जसलाई ’म्याग्नस इफेक्ट’ भनिन्छ । यस इफेक्टका कारण बलको दिशा घुम्न सक्छ, र यदि बललाई पर्याप्त बल र दूरीबाट हानियो भने यो ट्राजेक्टोरी देख्न सकिन्छ ।
कार्लोसको यो गोलले फुटबल र भौतिकीको रोचक सङ्गमलाई प्रस्तुत गरेको बताइन्छ ।

स्पेनिस महान् क्लब रियल मड्रिडका पूर्वखेलाडी कार्लोस मङ्गलबार बिहान काठमाडौं आइपुगेका हुन् ।
उनी नेपाल सुपर लिग (एनएसएल)का खेल हेर्न नेपाल भ्रमणमा आएको आयोजक एनएसइएमले जानकारी दिएको छ ।
कार्लोससहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो ।
हाल ५२ वर्ष पुगेका कार्लोसले भारतमा आएर इन्डियन सुपर लिग (आईएसएल)को सन् २०१५–१६ को सिजन खेलेका थिए ।
नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस (तस्वीरहरू)
Facebook Comment
Comment