काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।
मङ्गलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बैठकपछि जानकारी दिए ।
‘हरेक जिल्लाका विद्यालयका विद्यार्थीले समयमा नै परीक्षा होस् भन्ने मनसाय राखेकाले नरोक्ने निर्णय गरेका हौं,’ उनले भने, ‘परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आन्दोलनरत शिक्षकलाई तयारी गर्न आग्रह गर्ने निर्णय गरेका छौं ।’
बोर्डका अध्यक्ष शर्माले साढे पाँच लाख विद्यार्थीको भविश्य जोडिएकाले कक्षा १२ को परीक्षा जसरी पनि निर्धारित मितिमा सञ्चालन गर्न सहयोग गर्न सबैसँग आग्रह गरे ।
अब कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि नै सुरु हुने उनले बताए ।
यतिबेला परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू यतिबेला २१ दिनदेखि सडक आन्दोलनमा छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासङ्घले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यस्तोमा परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको थियो ।
यसैबीच शिक्षा क्षेत्रमा सङ्कट आइरहेका बेला सोमबार मात्रै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोगका कारण उनले राजीनामा दिएको बताइएको छ ।
Facebook Comment
Comment