काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज (साेमबार) भारत आउँदैछन् । भान्स श्रीमती उषासहित आज भारत भ्रमणमा आउन लागेको भारतीय सञ्चारमाध्यमहरूको समाचारमा उल्लेख छ ।
भान्सपत्नी उषा भारतीय मूलकी हुन् ।
उपराष्ट्रपति भान्सले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय छ । दुई नेताबीच द्विपक्षीय वार्ता हुने छ ।
भान्सकै भ्रमणका क्रममा भारत र अमेरिकाबीच व्यापार सम्झौताको तयारीसमेत गरिएको छ ।
भान्सले अप्रिल २४ मा वाशिङ्गटन डीसी जानुअघि जयपुर र आग्राको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
भान्सको भ्रमण यस्तो समयमा हुँदैछ, जब हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाहेक विश्वका अन्य देशहरूलाई पारस्परिक भन्सारबाट ९० दिनको राहत दिएका छन् ।
ट्रम्पले चीनबाहेक सबै देशहरूलाई ९० दिनको अस्थायी छुट दिँदै पारस्परिक भन्सारलाई समान रुपमा १० प्रतिशतमा घटाएका छन् । यस्तो अवस्थामा जेडी भान्सको भारत भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ ।
Facebook Comment
Comment