काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका हुन् ।
अहिले दलहरु गणतन्त्रको रक्षाका लागि एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक नरहेको उनले बताए । यद्यपि, गणतन्त्रका विषयमा दलहरुबीच कुनै विमत्ति नरहेको प्रचण्डको भनाइ छ ।
त्यस्तै, प्रचण्डले ठूलो दलको हैसियतले काङ्ग्रेसको नेतृत्वमा सरकार बने आफुहरुको समर्थन रहेपनि भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने स्पष्ट पारे । उनले अहिलेको गठबन्धन संविधानको भावना विपरित भएकाले गठबन्धनलाई समर्थन गर्ने चर्चा गलत भएको बताए ।
प्रचण्डले संविधान र कानुनअनुसार पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीति फर्कन कसैले नरोक्ने जिकिर गरे । उपराष्ट्रपति नन्दकिशोर पुन पार्टीमा क्रियाशिल हुन इच्छुक देखिएपछि पार्टीको जिम्मेवारीमा फर्किएको उनको भनाइ छ ।
Facebook Comment
Comment