काठमाडौं । बङ्गलादेशका एक प्रमुख हिन्दू नेता भावेशचन्द्र रोयको अपहरण गरी हत्या गरिएको छ ।
५८ वर्षीय रोयको घर बङ्गलादेशको राजधानी ढाकाबाट लगभग ३३० किलोमिटर उत्तरपश्चिममा रहेको दिनाजपुर जिल्लाको बासुदेवपुर गाउँमा छ ।
केही मानिसले उनलाई उनको घरबाट अपहरण गरेको आरोप छ । पछि उनी गम्भीर घाइते अवस्थामा फेला परेका थिए । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
स्थानीय मिडियाले प्रहरी र परिवारका सदस्यहरूलाई उद्धृत गर्दै बुधबार दिउँसो ४ः३० बजेतिर भावेशलाई फोन आएको बताएका छन् । उनलाई फोन गर्ने व्यक्तिहरूले पछि उनीमाथि आक्रमण गरेको विश्वास गरिन्छ ।
डेली स्टारको रिपोर्ट अनुसार यो फोन कलको लगभग ३० मिनेटपछि दुईवटा मोटरसाइकलमा चारजना पुरुष रोयको घरमा आइपुगेका थिए ।
यी मानिसहरूले उनलाई अपहरण गरेर नरबारी नामक गाउँमा लगेको आरोप छ, जहाँ उनलाई कुटपिट गरिएको थियो ।
परिवारका सदस्यहरूले डेली स्टारलाई बताएअनुसार रोयलाई आक्रमणकारीहरूले भ्यानमा बेहोस अवस्थामा घर पठाएका थिए ।
उनलाई दिनाजपुरको अस्पताल लगिएको थियो । तर अस्पताल पुग्नासाथै उनलाई मृत घोषित गरियो ।
Facebook Comment
Comment