राप्रपाको प्रदर्शनका कारण शिक्षक आन्दोलनको समय परिवर्तन

नेपालभ्युज

राप्रपाको प्रदर्शनका कारण शिक्षक आन्दोलनको समय परिवर्तन

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आइतबार काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा गर्ने प्रदर्शनको समय परिवर्तन गरेको छ।

यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएको महासङ्घले आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर यादवले जानकारी दिए ।

‘भोलिको परिस्थितिलाई मध्यनजर गरेर समय परिवर्तन गरेका छौं। ९ देखि १२ सम्म आन्दोलन गर्छौं। हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ,’ सुवेदीले भने।

महासङ्घले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो प्रदर्शनको समय परिवर्तन गरेको जनाएको छ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि माइतीघर–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन्। सरकारसँग वार्ता भए पनि सहमति जुट्न नसकेपछि उनीहरूले आन्दोलन जारी राखेका हुन्।

यसैबीच, राप्रपाले पनि भोलि दिउँसो १२ बजेदेखि बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। राप्रपाले पार्टी बैठकबाटै निर्णय गराएर निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शनमा सहभागी हुने जनाएको छ। उता, गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्ने गरी कुनै पनि गतिविधि भएमा कारबाही गर्ने चेतावनी दिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved