जनकपुर । मधेश प्रदेश सरकारमा योजना खरिद–बिक्री हुने गरेको आरोप निराधार रहेको जनमत पार्टीको संसदीय दलले निष्कर्ष निकालेको छ ।
शुक्रबार जनकपुरमा बसेको जनमत पार्टीको संसदीय दलको बैठकले मधेश प्रदेश सभामा योजना खरिद–बिक्रीबारे लगाइएको आरोप निराधार भएको निष्कर्ष निकालेको हो ।
गत चैत २७ गते प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले सरकारमा योजनाहरू खरिद–बिक्री हुने गरेको आरोपका बारेमा जवाफ दिएका थिए ।
मधेश प्रदेशसभामा सांसदहरूको यस्ता अभिव्यक्ति सङ्घीयताविरोधी रहेको संसदीय दलको बैठकले निष्कर्ष निकालेको छ । ‘यस्ता अभिव्यक्तिले सङ्घीयतालाई सुन्योजित तरिकाले समाप्त पार्न मलजल गर्ने हाम्रो ठहर छ,’ जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले भने, ‘बिनाआधार यस्तो आरोप लगाउनु भनेको लाखौं जनताको बलिदानबाट प्राप्त सङ्घीयतालाई समाप्त पार्न खोज्नु हो ।’
नेता यादवले सरकारले दिएको योजनाहरूको गहन छानबिन गर्ने बताए । उनले अहिलेका योजना र भावी योजनाहरू र सरकारको काम–कारबाहीको बारेमा मुख्यमन्त्री सतिशकुमार सिंहले विस्तृत कार्ययोजना आगामी संसदीय दलको बैठकमा प्रस्तुत गर्ने जानकारी दिए ।
संसदीय दलको बैठकमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहबारे पनि आइरहेका आरोपबारे पनि छलफल गरिएको छ । सो क्रममा मन्त्री साहले बैठकमा मौखिक जवाफ दिएका थिए । उनीसँग संसदीय दलको बैठकले लिखित जबाफ माग गरेको छ ।
Facebook Comment
Comment