एनएसएल : लिग चरणको अन्तिम खेल आज, प्लेअफको चौथो टोलीको टुङ्गो लाग्ने

नेपालभ्युज

एनएसएल : लिग चरणको अन्तिम खेल आज, प्लेअफको चौथो टोलीको टुङ्गो लाग्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत लिग चरणको अन्तिम खेल आज धनगढी एफसी र एफसी चितवनबीच हुँदैछ। यस खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुङ्गो लगाउने भएकाले यो भिडन्त निकै प्रतिक्षित बनेको छ।

यसअघि नै तीन टोलीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। मैदानमा उत्रने एफसी चितवन आज धनगढीविरुद्ध आफू अनुकूल नतिजा निकाल्दै प्लेअफमा पुग्ने लक्ष्यमा हुनेछ। यता, ६ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा रहेको काठमाडौं रेजर्सको नजर पनि यही खेलमा हुनेछ। धनगढी भने ५ खेलबाट ११ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा यसअघि नै स्थान पक्का गरिसकेको छ। चितवन ५ खेलमा ७ अंकसहित पाँचौं स्थानमा छ।

प्लेअफमा पुग्न चितवनलाई आज जित अथवा बराबरीको नतिजा पर्याप्त हुनेछ। यदि चितवनले आजको खेल जितेमा लिगको तेस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गर्नेछ। बराबरीको नतिजा आएमा चितवन र काठमाडौंको अंक बराबर हुनेछ, तर गोल अन्तरमा चितवन अगाडि रहने भएकाले प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

काठमाडौं रेजर्सलाई प्लेअफमा पुग्न आज चितवन धनगढीसँग पराजित भएको हेर्नुपर्ने बाध्यता छ। यस सिजनमा दुई टोलीको अंक बराबर भएमा गोल अन्तरलाई आधार मानिने प्रावधान छ। ६ खेलबाट ८ अंक जोडेको पोखरा थण्डर्स गोल अन्तरमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा यसअघि नै पुगिसकेको छ। पोखराको गोल अन्तर  प्लस १ रहेको छ भने काठमाडौंको माइनस १ छ। चितवनको गोल अन्तर हाल शून्य रहेकाले बराबरी खेले पनि काठमाडौं भन्दा अगाडि रहनेछ।

आज चितवन जित वा बराबरीको लक्ष्यसहित मैदानमा उत्रँदा काठमाडौं रेजर्स भने मैदान बाहिरबाट चितवनको हारको कामना गरिरहनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved