तीन महिनासम्म दर्ता भएन यौन दुर्व्यवहारको किटानी जाहेरी, मृत भेटिइन् मानसिक तनाव भोगिरहेकी पीडित

नेपालभ्युज

तीन महिनासम्म दर्ता भएन यौन दुर्व्यवहारको किटानी जाहेरी, मृत भेटिइन् मानसिक तनाव भोगिरहेकी पीडित

सिराहा । सिराहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी आनन्दीदेवी सदाय २०८० पुस ९ गते दिदीलाई भेट्न जाँदै थिइन । पोखरीको बाटो हिँडिरहेकी सदायलाई गाउँकै सञ्जीव कुमार यादव र श्यामसुन्दर यादवले तानेर नजिकैको बगैँचामा पुर्‍याए ।

बगैँचामा पुर्‍याएपछि उनीहरूले सदायको कपडा च्यात्न सुरु गरे । सदायले प्रतिकार गर्न त सकिनन्, तर उनीहरूको पन्जाबाट उम्किएर आफ्नो घर भने पुगिन् ।

आनन्दीदेवीले आफूमाथि भएको बलात्कार प्रयासको घटना आमा बिल्टौनदेवीलाई सुनाइन् । त्यसपछि आमाछोरीले तत्कालै प्रहरी कार्यालयमा किटानी जाहेरी दिए । तर, प्रहरीले आरोपितलाई पक्राउ गरेन ।

आफूविरुद्ध जाहेरी परे पनि पक्राउ नपरेका सञ्जीव र श्यामसुन्दरले त्यसपछि सदाय परिवारलाई धाक, धम्की दिन थाले । यस विषयमा पनि सदाय परिवारले प्रहरीलाई खबर गरेको थियो । तर, आनन्दीदेवीमाथि भएको जघन्य अपराधको छानबिन त अघि बढेन नै जाहेरी समेत समयमै दर्ता भएन ।

घटना भएको चार महिनासम्म पनि पीडकलाई पक्राउ र छानबिन नभएपछि सदाय परिवारले एकातिर छोरीमाथिको अत्याचार सहनुपर्‍यो भने अर्कातिर जाहेरी दिएको भनेर धाक धम्कीको सामना गर्नुपर्‍यो ।

यस्तो गम्भीर घटनामा पनि प्रहरीले लापरबाही गर्दा मङ्गलवार अर्को दुर्घटना हुन पुग्यो । दुई वर्षीया छोरीसहित माइतीमा बस्दै आएकी आनन्दीदेवी दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन् ।

आमा बिल्टौनदेवि सदायका अनुसार आनन्दीदेवि सो घटनापश्चात् पूर्ण रूपमा विक्षिप्त थिइन् । वैदेशिक रोजगारीमा रहेका आनन्दीदेविका श्रीमाले घटनापछि साथ छाडेको र दुई वर्षीया छोरीलाई एक्लै पालन पोषण गरेर बसिरहेकी उनको पनि मङ्गलवार झुन्डिएको अवस्थामा शव भेटिएको आमा बिल्टौनदेवीले जानकारी दिइन् ।

‘छोरीमाथि त्यत्रो अत्याचार हुँदा ज्वाइँले नै साथ छाड्यो, वास्ता गर्न छाड्यो । उनी(पीडक)हरू आएर धम्की दिन थाले । प्रहरीले अपराधीलाई पक्राउ गरेन । छोरी चिन्तामा थिई,’ आमा बिल्टौनदेवीले भनिन् ।

पीडकलाई उन्मुक्ति दिँदा पीडितलाई सास्ती

घटना भएकै दिन ९ पुसमा छोरी आनन्दीदेवी र आमा बिल्टौनदेवीले प्रहरीमा जाहेरी दिएका थिए । तर, प्रहरीले करिब तिन महिनापछि फागुन २५ मा मात्र जाहेरी दर्ता गरेको बिल्टौनदेवीको भनाइ छ ।

यसबीचमा माघ ४ गते प्रहरीले बोलाएपछि आनन्दीदेवीसहित उनकी आमा र बुबा जोगिन्दर सदाय प्रहरी कार्यालय पुगेका थिए । बिल्टौनदेवीका अनुसार त्यतिखेर प्रहरीले किटानी जाहेरीको दर्ता नम्बर ४० लेखिएको चिट दिएको थियो । त्यसपछि माघ ५ मा पनि प्रहरीले फेरी सदाय परिवारलाई बोलायो ।

भोलिपल्ट बुबा जोगिन्दर प्रहरीकोमा पुग्दा उनलाई अघिल्लो दिन दिइएको चिट दर्ता नम्बर गल्ती भएछ भन्दै प्रहरीले नै च्यातिदियो । बिल्टौनदेवीका अनुसार प्रहरीले जोगिन्दरलाई  जाहेरी नै गडबड भन्दै गालीगलौज समेत गरेको थियो ।

किटानी जाहेरीलाई समेत गम्भीरतापूर्वक नलिएर प्रहरीले पीडकलाई पक्राउ गर्नुको सट्टा पीडितलाई नै सास्ती दिएको सदाय परिवारको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले उनीहरूउपर जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको बताए । शर्माले आफू जिल्लामा आउनु अघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको बताए ।

‘गत फागुन २५ गते निजहरूविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो । घटना लगत्तै पीडकहरू फरार छन् । उनीहरू नेपाल छाडी भारतमा लुकेका हुनाले खोजतलास गर्न चुनौती भए पनि प्रहरी प्रशासन निरन्तर लागिरहेको छ,’ उनले भने, ‘पीडितमाथि यौन दुर्व्यवहार लगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ ।’

प्रहरी उपरीक्षक शर्माले बुधवार मात्र घटनास्थल पुगी पीडित परिवारलाई भेटेको जानकारी दिए । ‘मृतक आनन्दीदेवीकी दुई वर्षकी छोरी छिन् । आनन्दीदेवी एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा मङ्गलवार मृत फेला परेकी हुन्,’ उनले भने ।

पीडित परिवारका अनुसार प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरिरहेकै बेला आनन्दीदेवीको घरमा विभिन्न व्यक्तिहरू घरमा गएर मिलापत्रका लागि दबाब र जाहेरी फिर्ता लिन धम्की दिने गरेका थिए । साथै, मिलापत्र गर्न धम्की दिनेमा पीडक द्वयका आफन्त नरेन्द्र यादव रहेको उनीहरूको भनाइ छ । यादवले  पीडित सदाय परिवारलाई ‘तिमीहरूले केही गर्न सक्दैनौँ, बरु मिल । यसैमा सबैको राम्रो हुन्छ’ भन्दै बारम्बार धम्क्याउने गरेको बिल्टौनदेवीको भनाइ छ ।

यस घटनामा प्रहरीकै शङ्कास्पद भूमिका देखिएको भन्दै चौतर्फी आलोचना र विरोध सुरु भएपछि बुधवार गृहमन्त्री रमेश लेखले घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

उनले नेपाल प्रहरीका आइजिपी दीपक थापालाई फोन गर्दै घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । यतिखेर आनन्दीदेवि सदायको शव लहानस्थित प्रादेशिक अस्पतालमा छ । पोस्टमार्टम सकिए पनि परिवारले शव बुझ्न मानेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved