च्याम्पियन्स लिग

दोस्रो लेगमा पराजित हुनका बाबजुद पीएसजी सेमिफाइनलमा

नेपालभ्युज

दोस्रो लेगमा पराजित हुनका बाबजुद पीएसजी सेमिफाइनलमा

काठमाडौं । इङ्लिस क्लब एस्टन भिल्लालाई पछि पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

पीएसजी बुधबार बिहान क्वार्टरफाइनलको दोस्रो लेगमा भिल्लासँग ३–२ गोलअन्तरले पराजित भयो । यद्यपि पहिलो लेगमा ३–१ ले विजयी भएको पीएसजी समग्रमा ५–४ ले अन्तिम चारमा पुगेको छ ।

घरेलु टोली भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो टोलीका लागि पर्याप्त रहेन । भिल्लाले अविश्वसनीय रुपमा पुनरागमन सम्भावना देखाएपनि अर्को गोल थप्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो ।

आच्राफ हकिमीले खेलको ११औं मिनेटमा गोल गरेर पीएसजीलाई अग्रता दिलाए ।

त्यसपछि २७औं मिनेटमा नुनो मन्डेसले गोल गर्दै फ्रेन्च टोलीको अग्रता दोब्बर बनाए । त्यो गोलपछि भिल्लालाई कम्तीमा बराबरी गर्न ४ गोल चाहिएको थियो ।

घरेलु मैदान भिल्ला पार्कमा टोलीले पुनरागमनको प्रयास जारी राख्यो । यौरी टिलेमान्सले ३४औं मिनेटमा एक गोल फर्काएपछि पहिलो हाफ २–१ अवस्थामा टुङ्गियो
त्यसपछि दोस्रो हाफ थप रोमाञ्चक रह्यो । उनाई एमेरीको टोलीले सहजै हार स्वीकारेन । प्रतिभाशाली पीएसजी टोलीलाई दबाबमा राख्दै गोल फर्कायो ।
भिल्लाले २ मिनेटभित्र २ गोल गर्दै पीएसजीमाथि दबाब बढायो ।

खेलको ५५औं मिनेटमा जोन म्याकगिनले गोल गरे । त्यसपछि डिफेन्डर एज्री कोन्साले ५७ औं मिनेटमा गोल गर्दै भिल्लालाई अग्रता दिलाए ।

यसले भिल्लाको आत्मविश्वास बढायो र थप आक्रमण गर्यो । तर पीएसजीका गोलकिपर जियानलुइजी डोनारुम्माले ३ महत्वपूर्ण बचाउ गरे । जसले भिल्लालाई खेलमा बराबरी गर्नबाट रोक्यो । यससँगै पूर्वविजेता भिल्लाको च्याम्पियन्स लिगको सनसनीपूर्ण यात्रा पनि रोकियो ।

पीएसजीले अब सेमिफाइनलमा आर्सनल वा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनल पहिलो लेगमा ३–० ले विजयी भएको थियो ।

च्याम्पियन्स लिग: पीएसजीको घरेलु मैदानमा एस्टन भिल्लालाई कठिन चुनौती


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved