काठमाडौं । मोबाइल (स्मार्टफोन) र कम्प्युटरलगायत धेरै इलेक्ट्रोनिक उत्पादनलाई पारस्परिक शुल्क (कर) छुट दिने अमेरिकी सरकारको निर्णयप्रति चीनले प्रतिक्रिया जनाएको छ ।
चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकालाई आफ्ना सबै गल्ती सच्याउन आग्रह गरेको हो ।
चिनियाँ अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पारस्परिक करहरू ‘पूर्णरुपमा रद्द’ गर्न आग्रह गरेका हुन् ।
‘हामी अमेरिकालाई आफ्ना गल्तीहरू सच्याउन, पारस्परिक करको गलत नीतिलाई पूर्णरुपमा रद्द गर्न र पारस्परिक सम्मानको सही बाटोमा फर्कन प्रमुख कदम चाल्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
ट्रम्प प्रशासनले पारस्परिक कर लागू गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरू बीच ’कर युद्ध’ चलिरहेको छ ।
ट्रम्प प्रशासनले हालै मोबाइल फोन र कम्प्युटरलगायत धेरै इलेक्ट्रोनिक उत्पादनहरूलाई पारस्परिक करबाट छुट दिने घोषणा गरेको छ । यसमा चीनलाई थोरै राहत मिलेको छ । किनकि यसमा चिनियाँ सामानहरू पनि समावेश छन् ।
यद्यपि, अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले आइतबार एबीसी न्युजलाई यो छुट अस्थायी भएको बताएका छन् ।
अप्रिल २ मा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसहित विश्वका धेरै देशबाट आउने उत्पादनहरूमा पारस्परिक शुल्क लगाएका थिए ।
ट्रम्पले चीनबाहेक विश्वका बाँकी देशको हकमा ९० दिनका लागि अस्थायी रुपमा भन्सार महसुलमा छुट दिने घोषणा गरेका छन् ।
अमेरिकाले चीनमाथिको भन्सार शुल्क १४५ प्रतिशतसम्म बढाएको थियो भने अन्य देशलाई ९० दिनको अस्थायी छुट दिएको थियो । पारस्परिक भन्सार शुल्कलाई समान रुपमा १० प्रतिशतमा घटाएको थियो ।
Facebook Comment
Comment