काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा सनराइजर्स हैदरावादले पञ्जाब किङ्गसविरुद्ध अविश्वसनीय जित दर्ता गरेको छ। पञ्जाबले प्रस्तुत गरेको २४६ रनको विशाल लक्ष्य हैदरावादले १८.३ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो।
हैदरावादको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले १४१ रनको योगदान दिए भने ट्राभिस हेडले ६६ रन बनाए। पञ्जाबका अर्शदीप सिंह र युजवेन्द्र चहलले एक/एक विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ रोजेको पञ्जाबले ६ विकेटको क्षतिमा २४५ रनको विशाल योगफल तयार पारेको थियो। पञ्जाबका लागि श्रेयस अय्यरले ८२ रनको योगदान दिए भने प्रभसिमरन सिंहले ४२ रन जोडे। प्रियान्श आर्यले ३६ रन बनाए भने मार्कस स्टोइनिस ३४ रनमा नटआउट रहे। हैदरावादका हर्षल पटेलले ४ विकेट लिए भने इशान मालिङ्गाले २ विकेट हात पारे।
यो जितसँगै हैदरावाद ६ खेलमा ४ अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ भने पञ्जाब ५ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ।
यसैगरी, आइतबार भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गर्यो। गुजरातले दिएको १८१ रनको लक्ष्य लखनउले १९.३ ओभरमा ४ विकेटको क्षतिमा हासिल गर्यो। गुजरात ६ खेलमा ८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने लखनउले पनि समान खेलमा ८ अंक जोड्दै तेस्रो स्थान सुरक्षित गरेको छ।
Facebook Comment
Comment