काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई प्रहरीले पक्राउ गरे राजावादी आन्दोलन निर्णायक बन्ने बताएका छन् ।
चैत २६ (भोलि) गते राप्रपाले आयोजना गरेको राजावादी आन्दोलनका विषयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले शान्तिपूर्ण प्रदर्शन हुने भन्दै हिंसा र अराजकतामा आफ्नो भविष्य नदेखेको बताए ।
‘यदि मलाई थुनियो भने मबिना पनि आन्दोलन अघि बढेर जान्छ । हाम्रा पार्टीका नेताहरु थुनिँदा आन्दोलनलाई बल पुगेको छ,’ लिङदेनले भने, ‘मलाई राखियो भने झन् आन्दोलन निर्णायक भएर जान्छ ।’
भद्र अवज्ञा र सत्याग्रहका रूपमा आन्दोलन अघि बढाउने बताएका लिङदेनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई समेत सहभागिताका लागि अपिल गरे ।
‘आफ्नो जीवनकालमै देशमा परिवर्तन देख्न चाहने सबैलाई आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछु । आफ्नो पार्टीको झण्डा लिएर आउन मन लागे ल्याउन सक्नुहुन्छ, नत्र राष्ट्रिय झण्डा बोकेर आउनुस,’ लिङदेनले भने, ‘कांग्रेस, एमाले, माओवादीमा पनि देशलाई माया गर्नेहरु हुनुहुन्छ । तपाईंहरु आफ्नो पार्टीको झण्डा लिएर आउनुस् ।’
लिङदेनले राज्य पक्षबाट हिंसा भड्काउने कार्य हुने सक्ने भएकाले सचेतता पूर्वक हजारौं भोलेन्टियर्स लाई जनप्रदर्शनका लागि खटाइसकेको जानकारी लिङदेनले दिए ।
Facebook Comment
Comment