कर्णाली । भारतको उत्तराखण्ड प्रदेशको काँशीपुरबाट हराएका जुम्लाको सिञ्जा गाउँपालिका–५ जुम्ला शनिगाउँका २५ वर्षीय युवा सूर्यचन बुढा १२ दिनदेखि सम्पर्कविहीन छन् ।
हुम्ला घर भई सुर्खेत लाटीकोइली बस्दै आएको बताउने चारजना अपरिचित नेपालीले खाजा खान बसौँ भनेर सोही दिन दिउँसो काँशीपुरमा खानामा विषादी मिलाएर बेहोस बनाएको जानकारी प्राप्त भएको र त्यसपछि सम्पर्क हुन नसकेको जनाइएको छ । खोजीका लागि परिवारका सदस्यसहित आफूहरू भारत गएको सूर्यचनका आफन्त घनश्याम बुढाले जानकारी दिए ।
उनका अनुसार सूर्यचनसँगै सिञ्जा गाउँपालिका–६ शनिगाउँ जुम्लाकै अनबहादुर बुढा र वीरेन्द्र रोकायलाई पनि विषादी खुवाएर भारतीय रुपैँया एक लाख १७ हजार लुटिएको थियो । सूर्यचन्दबाहेक अनबहादुर र वीरेन्द्र होसमा आएपछि नेपाल फर्केको घनश्यामले बताए ।
तीनजना भारतको गडवालमा चार महिनादेखि काम गर्दै आएका थिए । उनीहरू घर फर्कने क्रममा लुटिएका हुन् । बुढा सम्पर्कमा नआएपछि परिवारजनले खोजी गरिदिन सरोकार भएकाहरूलाई आग्रह गरेका छन् । –रासस
Facebook Comment
Comment