काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि वडाध्यक्ष तथा कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका छन् ।
बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीले नगर प्रहरीलाई रोक्दै कार्यालयमा प्रवेश गराएका हुन् । ताला तोड्ने क्रममा ढोकाको सिसा फुटेको छ ।
यसबीच महानगर प्रहरी टोलीले हस्तक्षेप गरेको छ । कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न चेतावनी दिँदै नगर प्रहरी प्रमुख राजु पाण्डेले चाहे जुनसुकै पदाधिकारीलाई पनि रोक्ने बताएका छन् ।
“कार्यालयको सुरक्षा हाम्रो जिम्मा हो । चाहेमा जुनसुकै पदाधिकारीलाई पनि रोक्नेछौँ,” उनले भने, “हामीलाई स्पष्ट आदेश छ, त्यसको अक्षरशः पालना गर्छौँ ।”
काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । गत पुस ५ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । अहिले कार्यालयमै महानगर प्रमुख बालेन शाहलाई ‘बाइपास’ गर्दै उपप्रमुख सुनीता डङ्गोल, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखहरुको बैठक बसिरहेको छ ।
Facebook Comment
Comment