काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसमिति सदस्य रवि किरण हमालले सरकारले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।
हमालले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले शान्तिपूर्ण प्रदर्शनमा गरिएको दमनलाई ऐतिहासिक अन्यायको संज्ञा दिएका छन्। सुरक्षाकर्मीले राज्य शक्तिको दुरुपयोग गर्दै प्रदर्शनकारीमाथि निर्मम बल प्रयोग गरेको र यसले नागरिकको संविधानप्रदत्त अधिकार उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ।
उनका अनुसार प्रदर्शनका क्रममा ६० राउन्ड गोली, ७४६ राउन्ड अश्रु ग्यास तथा २३९ राउन्ड कार्टिज प्रयोग गरिएको छ। राज्यको यो बल प्रयोग नेपाली इतिहासमै नभई विश्वकै प्रदर्शन इतिहासमा दुर्लभ रहेको उनले बताएका छन्।
हमालले घटनाको स्वतन्त्र छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रशासन प्रमुख, उपत्यका प्रहरी प्रमुख तथा फिल्डमा संलग्न प्रहरी उच्च अधिकारीहरूलाई तत्काल निलम्बन गर्न आग्रह गरेका छन्।
‘आज शक्तिको दुरुपयोग गरेर निहत्था नागरिकलाई गोली प्रहार गर्नेहरूले नै घटनाको छानबिन गरिरहेका छन्, विधिको शासनमा यो कुनै हालतमा पनि स्वीकार्य छैन’, विज्ञप्तिमा हमालले भनेका छन् ‘काठमाडौं जिल्ला प्रशासन प्रमुख, उपत्यका प्रहरी प्रमुख साथै फिल्डमा संलग्न प्रहरीका उच्च अधिकृतहरूलाई तत्काल निलम्बन गरी जिम्मेवारी मुक्त गर्दै नयाँ नेतृत्व ल्याउन आग्रह गर्दछु। वर्तमान नेतृत्वको अगुवाइमा हुने छानबिन निष्पक्ष हुनै सक्दैन, सम्पूर्ण प्रमाणहरू नष्ट हुने गम्भीर खतरा छ।’
Facebook Comment
Comment