काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकतान्त्रिक गणतन्त्रको पक्षमा खुलेको छ । राजावादीहरूले गणतन्त्रविरोधी गतिविधि सञ्चालन गरिरहेको अवस्थामा मौन रहँदा रास्वपाको पक्षधरतामाथि नै प्रश्न उठेको थियो ।
चैत १३ गते बसेको प्रतिपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रबारे कार्यवाहक सभापति डोलप्रसाद अर्यालसँग धारणा माग गरेका थिए । गणतन्त्रबारे स्पष्ट धारणा नभएको भन्दै रास्वपालाई प्रधानमन्त्रीले आह्वान गरेको गणतन्त्रवादी दलहरूको बैठकमा समेत आमन्त्रण गरिएको थिएन ।
रास्वपाले यसअघि नै जलेश्वरको सम्मेलनबाट पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अपनाउने नीति लिएको थियो । दस्ताबेजमा यस्तो लेखे पनि राजावादीहरूको गतिविधिमा मौनता साँधेपछि रास्वपामाथि गणतन्त्रवादी दलहरूको संशय थियो । उक्त संशयलाई रास्वपामाथि हिलो छ्याप्ने प्रयास भएको प्रतिक्रिया सभापति रवि लामिछानेको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अन्तर्गत नै चुनाव लडेर संसद्मा प्रवेश गरेकाले रास्वपा यस व्यवस्थाप्रति प्रतिबद्ध रहेको उनले बताएका छन् । ‘हामीलाई लोकतन्त्रवादी, गणतन्त्रवादी होइन भनेर हिलो छ्याप्ने काम गरियो । रास्वपा तपाईँहरू जस्तो लोकतन्त्रको खोल ओढेर लुटतन्त्र मच्चाउने दल होइन,’ पार्टी बैठकमा प्रवेश गर्नुअघि सम्बोधन गरेका लामिछानेले भने ।
पार्टी बैठकमा ब्रिफिङ गर्दै उनले रास्वपा गणतन्त्रवादी नै रहेको प्रस्ट पारेका छन् । पार्टीले गणतन्त्रको झन्डा बोक्ने उनको भनाइ छ । गणतन्त्रको नाममा ओलीतन्त्र वा देउवातन्त्र स्वीकार्य नहुने उनको भनाइ छ । गणतन्त्रलाई जनता केन्द्रित बनाउने दबाब अभियानमा रास्वपा सक्रिय हुनुपर्ने बेला आएको उनको भनाइ छ । ‘गणतन्त्र भनेको जनताको तन्त्र हो । यसको झन्डा हाम्रो पार्टीले बोक्ने छ । तर, गणतन्त्रको नाममा ओलीतन्त्र वा देउवातन्त्र हामीलाई स्वीकार्य हुनेछैन,’ उनले भनेका छन् ।

सडकमा राजसंस्थाको पक्षमा भएको प्रदर्शन राजालाई विश्वास गरेर आएको नभएर लुटतन्त्र मच्चाउनेलाई दण्डित गराउनुपर्ने आक्रोश रहेको लामिछानेको धारणा छ । व्यवस्थाभित्रका कमीकमजोरी सुधार गर्दै यसलाई सुदृढ बनाउन रास्वपाले आफ्नो अभियानलाई अझैँ प्रभावकारी बनाउने लामिछानेको भनाइ छ । ‘सडकमा उत्रिएकाहरू राजालाई विश्वास गरेर आएका होइनन् । उनीहरू यो व्यवस्थामा मच्चिएको लुटतन्त्र अन्त्यका लागि आएका हुन् । लोकतान्त्रिक गणतन्त्रका विकृति सुधार गर्दै यसलाई बलियो बनाउन पार्टीले प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ,’ उनले भनेका छन् ।
गणतन्त्र र संविधानको सुदृढीकरणका लागि दबाब दिन पार्टीलाई बृहत् पुनर्संरचना गरेर अघि बढ्नुपर्ने बेला आएको लामिछानेले बताए । ‘हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र परिणामको लागि अब हामी नेतृत्व लिनेछौँ । यसका लागि सङ्गठनमा भारी फेरबदल र पुनर्संरचनामा जान चाहन्छु । यसका लागि सबैलाई तयार रहन भन्न चाहन्छु,’ उनको भनाइ छ ।
‘मिसन ब्लु- प्रिन्ट कार्यदल’ गठन
रास्वपाले राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न ‘मिसन ब्लु- प्रिन्ट कार्यदल’ गठन गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति द्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
कार्यदलमा पूर्व मन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सदस्य छन् । पार्टीले लिडरसिप एकेडेमी र उम्मेदवार क्लबलाई कार्यान्वयनमा लैजान सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी दिएको छ ।
यस्तै जनताको कुरा सुन्न भन्दै रास्वपाले जनयात्रा सुरु गर्ने भएको छ । रास्वपाले चैत २३ गतेबाट चितवनबाट यात्रा सुरु गर्ने भएको हो । पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजनको जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पाएका छन् ।
रास्वपाले पार्टीको महाधिवेशन समयमै गर्ने निर्णय पनि गरेको छ । पार्टीको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न सभापतिको निर्देशन छ ।’
महाधिवेशन आयोजनाको विषयमा केन्द्रीय सदस्य र प्रदेश समितिबाट तीन दिनभित्र लिखित राय माग गरिएको छ ।
रास्वपाले प्रतिस्पर्धी दलहरूबाट आफूविरूद्ध निषेधको राजनीति भइरहेको भन्दै २०८४ लाई जनहितको पक्षमा निर्णायक बनाउन एक ढिक्का भएर अघि बढ्ने निर्णय पनि लिएको छ ।
Facebook Comment
Comment