काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले सर्वोच्च अदालतमा पेस गरेको मुद्दा बुधबार समय अभावले दर्ता हुन नसकेको पाइएको छ ।
आफूलाई गैरकानूनीरुपमा पदमुक्त गरिएको दाबी गर्दै घिसिङ सर्वोच्चमा पुगे पनि उक्त मुद्दा पेस मात्रै भएको हो ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध घिसिङ सर्वोच्च गएका थिए ।
सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग सहितको मुद्दा बुधबार ढिलो गरी पेस भएकाले दर्ता नभएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
यता पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि बुधबार नै सर्वोच्च गए ।
आफैँले हालेको चार वर्ष पुरानो मुद्दा पहिला टुङ्गो लगाउन माग गर्दै शाक्यले बुधबार सर्वोच्चमा रिट निवेदन दिएको उनीनिकट स्रोतले जनाएको छ ।
यसअघि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले शाक्यलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
सरकारले सोमबार मात्रै घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । घिसिङले सर्वोच्चमा पेस गरेको मुद्दामा शाक्यलाई पनि विपक्षी बनाएका छन् ।
पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै प्राधिकरणका नयाँ कार्यकारी निर्देशक शाक्य पनि गए सर्वोच्च
Facebook Comment
Comment