यी हुन् छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका अर्जेन्टिनासँगै चार टोली

नेपालभ्युज

यी हुन् छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका अर्जेन्टिनासँगै चार टोली

काठमाडौं । आगामी वर्ष क्यानडा, मेक्सिको र अमेरिकामा हुने विश्वकप फुटबलका लागि चार टोलीले छनोट चरण पार गरेका छन् ।

साविक विजेता अर्जेन्टिना, जापान, इरान र न्युजिल्यान्ड सन् २०२६ को विश्वकप लागि छानिएका हुन् ।

दक्षिण अमेरिका क्षेत्रअन्तर्गतको छनोटबाट अर्जेन्टिना छानिएको हो । बुधबार बिहान भएको खेलमा तीन पटकको विजेता अर्जेन्टिना सर्वाधिक पाँच पटकको विजेता ब्राजिललाई ४–१ को फराकिलो गोल अन्तरले हरायो ।

यस्तै एसियाबाट जापान र इरानले टिकट काटेका छन् । यही चैत ७ गते भएको खेलमा बहराइनलाई २–० ले हराउँदै जापानले विश्वकप खेल्ने पक्का गरेको छ ।

यस्तै मङ्गलबार राति उज्वेकिस्तानलाई २–२ गोलको बराबरीमा रोक्दै इरान पनि विश्वकपमा छानिएको छ ।

यसैगरी ओसियाना क्षेत्रको छनोटमा न्यू क्यालेडोनियालाई ३–० गोल अन्तरले हराएर न्युजिल्यान्ड विश्वकपमा छानिएको हो ।

एसिया क्षेत्रबाट सिधै नौ तथा दक्षिण अमेरिकाबाट सात टोली विश्वकपमा छनोट हुनेछन् । यी क्षेत्रका एक–एक टोलीले भने अन्तरमहादेशीय प्लेअफ खेल्नेछन् ।

ओसियानाबाट एउटा टोली विश्वकपमा सिधै छानिने प्रावधानअनुसार न्युजिल्यान्डले स्थान पक्का गरेको हो ।

न्यू क्यालेडोनियाले भने प्लेअफमा स्थान बनाएको छ ।

क्यानडा, मेक्सिको र अमेरिका भने आयोजकको हैसियतमा सिधै विश्वकपमा छनोट भएका छन् ।

आगामी वर्षको विश्वकपमा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघिको संस्करणमा ३२ टोली सहभागी थिए ।

२०२६ को विश्वकपका लागि अब ४१ टोली छनोट हुन बाँकी छ ।

मेसीबिनै मैदानमा उत्रेको अर्जेन्टिनाले ब्राजिलको पोष्टमा गर्‍यो ४ गोल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved