कुलमान बर्खास्त प्रकरण : सत्ता गबठबन्धनबाटै निन्दा, प्रतिपक्षीबाट विरोध

नेपालभ्युज

कुलमान बर्खास्त प्रकरण : सत्ता गबठबन्धनबाटै निन्दा, प्रतिपक्षीबाट विरोध

काठमाडौं । विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई बर्खास्त गर्ने निर्णयको सत्ता गठबन्धनभित्रै निन्दा भएको छ । यस्तै प्रमुख प्रतिपक्षीले उक्त निर्णयप्रति विरोध जनाएको छ ।

सरकार सञ्चालनका लागि गठित संयन्त्रका सदस्य समेत रहेका काङ्ग्रेस महामन्त्री गगन थापाले सरकारले गलत गरेको भन्दै मन्त्रिपरिषद् निर्णयको आलोचना गरेका छन् ।  निर्णयको विरोध गर्दै उनले सरकारले असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको बताएका छन् ।

आम नागरिकमा असन्तुष्टि बढिरहेको समयमा नागरिकलाई डेलिभरी दिनुपर्ने बेलामा सरकार उल्टो बाटो हिँडेको उनको भनाइ छ । असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न केही तप्का सलबलाइरहेको अवस्थामा उनीहरूलाई मलजल पुग्ने निर्णय सरकारले लिएको उनको आशय छ ।

निर्णयप्रति आक्रोश व्यक्त गर्दै थापाले लेखेका छन्,’ आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?’

काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णप्रति विमति जनाएका छन् । कुलमानलाई हटाउने सहमति नभएको भन्दै सरकारको निर्णय समयोचित नभएको बताएका छन् । ‘कारबाहीयोग्य केही भए पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायाँमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्नथियो । सरकारको यो निर्णय समयोचित विल्कुल भएन । यसप्रति खुला र प्रस्ट विमति छ,’ फेसबुकमा शर्माले लेखेका छन् ।

यस्तै, यो निर्णयको प्रमुख विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आलोचना गरेका छन् । सरकारले दुई तिहाइको दम्भ देखाएको उनको भनाइ छ । ‘सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस् , यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, २/३ बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु,’ उनले भनेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङ्लाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सरकारको यो निर्णय आफुलाई आश्चर्य नलागेको प्रतिक्रिया घिसिङ्ले नेपालभ्युजलाई दिएका छन् । ‘यो पहिलेदेखिकै तयारी थियो । मैले स्पस्ट पार्नुपर्ने सबै कुरा स्पस्ट पारिसकेको छु । सरकारले आफ्नो निर्णय लिइसक्यो । अहिले भन्नुपर्ने कुनै कुरा छैन । यसमा आश्चर्य मान्नुपर्ने कुरा पनि छैन,’ उनले भने ।

तपाईंलाई यो निर्णयविरूद्ध अदालत जाने सुविधा छ, के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यस विषयमा म भोली आवश्यक निर्णय लिनेछु । अहिले तात्ततात्तै यही गर्छु भन्ने पक्षमा म छैन,’ उनले भने ।

बर्खास्तमा परेका घिसिङलाई सरकारले पाँचपटक स्पस्टिकरण सोधेको थियो । चारपटकसम्म मन्त्रालयबाट स्पस्टिकरण सोधिएकोमा फागुन २२ मा पाचौँ स्पस्टिकरण मन्त्रिपरिषद्बाट सोधिएको थियो । चारवटा प्रश्न गर्दै उनलाई पदबाट किन नहटाउने भन्दै स्पस्टिकरण सोधिएको थियो । फागुन २५ गते स्पस्टिकरण दिँदै कुलमानले आफुलाई पदबाट हटाउनुपर्ने कुनै कारण नरहेको जवाफ सरकारलाई दिएका थिए ।

कुलमानले दिएको स्पस्टिकरण चित्तनबुझ्दो नभएको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा बैठकमा भनेका छन् । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अहिले नै यस्तो निर्णय नलिन काङ्ग्रेसका केही मन्त्रीले प्रधानमन्त्री ओलीलाई सुझाएका थिए ।  स्पस्टिकरण सोध्दा सरकारलाई उल्टै चुतौनी दिने व्यक्तिलाई पदमा राख्नुपर्ने कुनै कारण नरहेको जवाफ प्रधानमन्त्री ओलीको थियो ।

बर्खास्तबारे कुलमान: आश्चर्यमा छैन, आवश्यक निर्णय लिनेछु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved