हिङ्साग्रस्त मणिपुर पुग्यो सर्वोच्चका न्यायाधीशको टोली, चाँडै समाधान निस्कने आशा

नेपालभ्युज

हिङ्साग्रस्त मणिपुर पुग्यो सर्वोच्चका न्यायाधीशको टोली, चाँडै समाधान निस्कने आशा

काठमाडौं । मणिपुर पुगेको भारतीय सर्वोच्च अदालतका न्यायाधीशहरूको प्रतिनिधिमण्डलले राज्यका दुई पक्षहरूबीच चाँडै समाधान निस्कने आशा व्यक्त गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरूको प्रतिनिधिमण्डल दुई दिने भ्रमणका क्रममा शनिबार मणिपुर पुगेको हो । यसको नेतृत्व न्यायाधीश बीआर गवईले गरेका थिए । उनीसँगै न्यायाधीश विक्रम नाथ, न्यायाधीश एमएम सुन्दरेश र न्यायाधीश केभी विश्वनाथ पनि रहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

प्रतिनिधिमण्डलले राज्यको चुराचन्दपुर जिल्लामा रहेको राहत शिविरको भ्रमण गरेको थियो । यस भ्रमणको उद्देश्य मणिपुरका जनतालाई एकसाथ ल्याउनु र राज्यमा शान्ति स्थापना गर्नु रहेको बताइएको छ ।

‘राहत शिविरमा रहेका मानिसहरू अहिले राम्रो महसुस गरिरहेका छन् । तिनीहरू सबै शान्ति र सामान्य जीवन चाहन्छन्,’ मणिपुरको अवस्थाबारे न्यायाधीश गवईले समाचार एजेन्सी एएनआईलाई भने, ‘मैले दुवै समूहसँग कुरा गरेको छु । मलाई आशा छ चाँडै समाधान निस्कने छ ।’

यसरी भड्कियो हिंसा

सन् २०२५ को फेब्रुअरी ९ मा एन वीरेन सिंहले मणिपुरको मुख्यमन्त्री पदबाट राजीनामा दिए । यसपछि राज्यमा राष्ट्रपति शासन लागू भयो ।

मणिपुरमा मे २०२३ देखि जातीय द्वन्द्व चलिरहेको छ । यसमा २५० भन्दा बढीको मृत्यु भएको छ । हिङ्साका कारण मेइतेई र कुकी समुदायका हजारौं मानिस विस्थापित भएका छन् ।

मार्च २७, २०२३ मा मणिपुर उच्च अदालतले एक आदेशमा राज्य सरकारलाई अनुसूचित जनजातिको सूचीमा मैतेई समुदायलाई समावेश गर्ने बारेमा छिटो विचार गर्न भनेको थियो ।

यसकै कारणले गर्दा मे ३, २०२३ मा मणिपुरमा कुकी र मेइतेई समुदायहरूबीच जातीय हिङ्सा भड्कियो । यसमा धेरैले ज्यान पनि गुमाइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved