काठमाडौं । कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ।
आइतबार साँझ बसेको सर्वदलीय बैठकले सोमबार बिहानबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार राति विद्युत आपूर्तिमा समस्या हुनसक्ने भएकाले विद्यार्थीहरूको आग्रहमा मतगणना बिहान गर्ने सहमति भएको हो। मतगणना क्याम्पसभित्रै हुने र मंगलबार दिउँसो १२ बजेसम्म सक्ने अनुमान गरिएको उनले बताए ।
आइतबार बिहान ८ बजेदेखि ५ बजेसम्म भएको मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए। ९२७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मत खसेको बताइएको छ ।
स्ववियु अध्यक्षका अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपाने र कमल सुवेदी प्रतिस्पर्धामा छन्।
Facebook Comment
Comment