राष्ट्रियसभामा बहस

‘पूर्वराजाले जनता भड्काउने काम गरे, संविधानको रक्षामा एकजुट हुने बेला आयो’

नेपालभ्युज

‘पूर्वराजाले जनता भड्काउने काम गरे, संविधानको रक्षामा एकजुट हुने बेला आयो’

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले पूर्वराजाले जनता भड्काउने काम गरेको भन्दै संविधानको रक्षाका लागि गणतन्त्रवादी दल एकजुट हुने बेला आएको बताएका छन् ।

नेपाली काङ्ग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले पूर्व राजा ज्ञानेन्द्रले जनता भड्काउने काम गरेको भन्दै संविधानको रक्षाका लागि गणतन्त्रवादी दलहरू दृढतापूर्वक लाग्नुपर्ने अवस्था आएको बताए।

“म अब राजनीतिक खेलाडीको रूपमा आएँ भन्न सक्नुपर्छ। दलहरूसँग मेरो एजेन्डा यो हो भन्न सक्नुपर्छ। त्यसो नगरी राजा आउँछ नै भन्ने खालले जनतालाई भड्काउने काम जुन भइरहेको छ। यो ठीक भएन,” उनले भने, “हामी परिवर्तनकारी राजनीतिक दलहरूमा दृढता पनि देखिरहेको छैन। राजनीतिक दलहरू जे जति छौँ संविधानको पक्षमा एकपटक एकताबद्ध भएर उभिने बेला भयो ।”

उनले पूर्वराजा ज्ञानेन्द्रलाई लोकतान्त्रिक बाटोबाट राजनीतिमा आउने विकल्प खुला रहेको बताए । सिटौलाले संविधानले सम्बोधन गर्न नसकेको जनताका अपेक्षालाई संशोधनमार्फत सुधार गर्दै जनतालाई अधिकतम लाभ दिने विषयमा राजनीतिक दलहरू केन्द्रित हुने बेला आएको उनले बताए ।

यस्तै, एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले राजतन्त्र फर्किने सम्भावना नेपालमा नरहेको सत्यलाई पूर्वराजा ज्ञानेन्द्रले बुझ्नुपर्ने बताए ।

गणतान्त्रिक व्यवस्थापछि अपेक्षाकृत रूपान्तरण हुन नसक्दा जनतामा निराशा बढेको भन्दै उनले  संविधानले कल्पना गरेको समाजवादतर्फ  सबै दल एकताबद्ध भएर अघि बढ्नुपर्ने  बताए । “गणतन्त्रको विकल्प राजतन्त्र होइन । गणतन्त्रको विकल्प उन्नत स्तरको गणतन्त्र हो समाजवाद हो । समाजवादी गणतन्त्रको दिशामा अघि बढ्ने योजनाका साथ हामी अघि बढौँ । संविधानले कल्पना गरेको समाजवादतर्फ सबै दल एकताबद्ध गएर अघि बढौँ,” उनले भने ।

नेपालको राजतन्त्र जहिले पनि जनतासँगका सम्झौता उल्लङ्घन गर्दै तानाशाही बाटोमा अग्रसर भएकाले आफ्नै व्यवहारका कारण राजतन्त्र समाप्त भएको भुसालको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved