सुदूरपश्चिम । यही चैत ७ गते धनगढीमा आयोजना गर्न लागिएको ‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरूष र महिला विधाको मनोनयन सार्वजनिक गरेको हो । सुदूरपश्चिम आइकन पुरूष विधातर्फ कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी मनोनयनमा परेको छनोट समितिका संयोजक सीताराम ओझाले जानकारी दिए ।
जोशी बङ्गलादेशमा भएको चौथो बङ्गबन्धु पुरूष अन्तरराष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बन्दा टोलीका सदस्य थिए । उनी एसियाली खेलकुदअन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा छन् ।
पौडीका सिंह वल्र्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका थिए । सन् २०१३ को दक्षिण एसियाली खेलकुद सागमा बनेको कीर्तिमान उनले भङ्ग गरेको आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
पौडीतर्फ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई पदक जिताउने सिंह एक्ला खेलाडी हुन् । उनले वर्ष २०८१ मा दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी सात पदक जितेका थिए । क्रिकेटका धामी यु–१९ एसिया कपमा अफगानिस्थानमाथि जित दर्ता गराउन उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टिमका कप्तान हुन् । सिनियर टोलीबाट क्यानडाविरूद्ध डेब्यु खेलमा उनले तीन विकेट लिएका थिए ।
सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । बोहरा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । उनी ५६औँ राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जित्ने सुदूरपश्चिम प्रदेशको एकमात्र खेलाडी हुन् ।
कबड्डीकी जोशी इरानमा भएको छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपालले कास्य पदक जित्ने टोलीकी सदस्य हुन् । उनी एसियाली खेलकुदअन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन् । क्रिकेटकै सावित्री धामी १९ वर्षमुनिको सुशील कोइराला मेमोरियल क्रिकेटमा उत्कृष्ट खेलाडी भएकी थिइन् । उनी मैयादेवी महिला क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यान भएकी थिइन् ।
खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले दुवै विधाका विजेता खेलाडीलाई जनही रू २० हजारसहित ट्रफी प्रदान गरिने बताए। छैटौँ संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्न लागिएको छ ।
सुदूरपश्चिम आइकन महिला तथा पुरूषसँगै उत्कृष्ट खेलाडी पुरूष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विधामा अवार्ड प्रदान गर्न लागिएको छ ।
उत्कृष्ट खेलाडी पुरूष र महिला विधाका विजेतालाई जनही रू ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रू ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही रू २५ हजारबाट पुरस्कृत गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको स्पोट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) धनगढीले गरेको छ । रासस
Facebook Comment
Comment