प्रतिगामी र प्रतिक्रान्तिकारीले स्पेस पाएको महसुस गर्न थाले : प्रचण्ड

नेपालभ्युज

प्रतिगामी र प्रतिक्रान्तिकारीले स्पेस पाएको महसुस गर्न थाले : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीको काँधमा आएको बताएका छन् ।

पार्टीको सहायक सङ्गठन वाइसीएल नेपालको बैठक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेला-बेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक नहुने उल्लेख गर्दै प्रचण्डले त्यस्ता प्रयासका विरुद्ध अझ बढी सङ्गठित र सशक्त भएर उनीहरूलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हुने बताए ।

अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै उनले यसलाई क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्ने बताए ।

आफ्नो पार्टीले ०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप सङ्घर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरिएको स्मरण गराउँदै उनले अहिले त्यही सङ्घर्षको बिन्दु सुरु भएको दाबी गरे ।

गणतन्त्रको विकल्प कुनै पनि नामको निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको प्रचण्डको भनाइ छ ।

उनले युवालाई प्रतिगमनको मतियार बनाउने खतरा बढेकाले आम युवालाई अग्रगमनका लागि थप सचेत र सङ्गठित गर्नुपर्ने बेला आएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved