काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
उनले मङ्गलबार सामाजिक सञ्जालमार्फत जनताले लोकतन्त्रको विकल्प खोजेको नभइ राजासहितको लोकतन्त्र खोजेको स्पष्ट पारेका हुन् ।
‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन ।त् यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरङ्कुशता खोजेको होइन,’ उनले फेसबुकमा लेखेका छन्, ‘जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो ।’
अहिले जनताले लोकतन्त्रको नाममा भइरहेको छाडातन्त्र, सिन्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाको भनाइ छ ।
‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिन्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो । मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो, उनले थपेका छन्, ‘राजासहितको प्रजातन्त्र व्श्विमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ । बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन् । जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो । त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन ।’
गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थलमा कम्तीमा १० हजार समर्थकको भीड लागेको थियो । यसबाट थापालगायतका राजसंस्था पक्षधरहरू हौसिएका छन् ।
Facebook Comment
Comment