राप्रपाले तिर्ने भयो महानगरको जरिवाना, एमालेले अझै तिरेन

नेपालभ्युज

राप्रपाले तिर्ने भयो महानगरको जरिवाना, एमालेले अझै तिरेन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार गरिएको र्‍यालीले सडक फोहोर गरेको र रुख विरुवामा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई १ लाख रुपैयाँ जरिवाता तिराउने निर्णय गरेको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले राप्रपाले महानगरलाई जरिवाना तिर्ने बताएका छन् । उनले नेपालभ्युजसँग भने, “राप्रपाले जरिवाना तिर्छ ।”

राप्रपाले जरिवाना तिर्ने भनेपनि एमालेले भने अझै जरिवाना तिरेको छैन । गत मङ्सिर ७ मा एमालेले दरबारमार्गमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा फोहोर भएको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो ।

तर, एमालेले भने उक्त पत्र अझैसम्म बुझेको छैन । एमाले केन्द्रीय कार्यलयका सचिव भिष्म अधिकारीकाअनुसार ७ मङ्सिरको कार्यक्रमको आयोजक एमाले नभएको बताए । उनले नेपालभ्युजसँग भने, “त्यो कार्यक्रमको आयोजक पार्टीको उपत्यका कमिटी हो । काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष, सम्पर्क र जनसङ्गठनहरूले भेला गरेका हुन् ।”

आफूहरुले जिल्ला कमिटीलाई जरिवाना पत्र बुझाउन भनेर महानगरलाई सुझाएको पनि अधिकारीले बताए । उनले भने, “महानगरले स्टण्टबाजी गरेर केन्द्रीय कार्यालयलाई पत्र काट्यो, त्यो कार्यक्रमको आयोजक त जिल्ला कमिटी हुन् ।’

काठमाडौं महानगर क्षेत्रमा कार्यक्रम गरेर फोहोर गरिएको भन्दै जरिवाना तोकिएको यो पहिलो पटक होइन । राप्रपाले २०८० चैत २७ मा भृकुटीमण्डपमा गरेको आमसभापछि फोहोर भएको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै महानगरले पाँच हजार २२२ रुपैयाँ जरिवाना तिराएको थियो । जुन राप्रपाले जरिवाना तिरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved