भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको छ : गृहमन्त्री लेखक

नेपालभ्युज

भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको छ : गृहमन्त्री लेखक

जाजरकोट । गृहमन्त्री रमेश लेखकले भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको बताएका छन् । उनले भूकम्प पीडितका नाममा राजनीति नगर्न आग्रह गरे ।

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाई कार्यालयको आइतबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प पीडितका लागि कार्यालय स्थापना गरिएको जानकारी दिए । चर्किएका र भत्किएका घर सरकारले निर्माण गर्ने उनले बताए । भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण पुनःस्थापना प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार एकसाथ सो कार्यमा लाग्नुपर्ने उनको भनाइ थियो ।

‘विस्तृत क्षति आँकलनको काम छिटोछरितो रुपमा अघि बढाउनुपर्छ । सो कार्य समयमा सम्पन्न गरी पुनःनिर्माणको कामलाई अघि बढाउन सरकार लागिपरेको छ,’ गृहमन्त्री लेखकले भने । भूकम्पले घर भत्किएपछि पुनर्निर्माण अघि गरिने विस्तृत क्षति आँकलनका लागी जाजरकोटमाा ५० जना र रुकुम पश्चिममा ४८ जना प्राविधिकले काम गरिरहेको उनले बताए । प्राविधिकको सङ्ख्या कम भए सरकारले थप गर्ने उनको भनाइ थियो ।

गृहमन्त्री लेखकले जाजारकोटमा अलपत्र परेका योजनाका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमार्फत् छिटोछरितो सम्पन्न गर्न पहल गरिने बताउनुभयो । सरकार जनताको अवस्था परिवर्तन गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे । यसका लागि आवश्यक बजेट व्यवस्थापन गरी विस्तृत क्षति आँकलनको प्रतिवेदन चाँडो आएपछि सरकारले बजेट व्यवस्थापन गरी पुनर्निर्माणको कामलाई अघि बढाउने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे ।

‘पुनर्निर्माणको काम छिटोछरितो गरी भूकम्प प्रभावित जनतालाई सुरक्षित आवासमा राख्ने सरकारको लक्ष्य छ,’ उनले भने । भूकम्प जति बेला पनि आउनसक्ने भएकाले स्थानीय सरकारले विपद् जोखिम न्यूनिकरण कोषलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

गत वर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भई गएको भूकम्पबाट धनजनको क्षति भएपछि भूकम्प पीडितको घर निर्माण गर्न जाजरकोट र रुकुम पश्चिममा कार्यालय स्थापना गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा प्राधिकरणका भीष्मकुमार भुसाल, नेपाली काङ्ग्रेस जाजरकोटका सभापति एवं प्रदेशसभा सदस्य वेदराज सिंह, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टलगायतले पुनर्निर्माण तथा पुनःस्थापनाको काम सुरु भएकामा खुसी व्यक्त गरे । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved